कोटा निर्धारणमा आर्थिक चलखेलको आरोप : चिकित्साशास्त्र अध्ययन संस्थानमा विद्यार्थीद्वारा विरोध प्रर्दशन

काठमाडौं, २५ कार्तिक । त्रिभुवन विश्वविद्यालय अन्तरगतको चिकित्सा शास्त्र अध्ययन संस्थानले चिकित्सा शास्त्र अध्ययनका लागि कोटा निर्धारणमा आर्थिक चलखेल गरेको भन्दै विद्यार्थीहरुले बिरोध प्रर्दशन गरेका छन् ।
महाराजगंजस्थित संस्थानको डीन कार्यालयमा आईतबार बिहान विद्यार्थीहरुले कोटा निर्धारण निष्पक्ष ढंगले गर्न माग गर्दै विरोध प्रर्दशन गरेका हुन् । आर्थिक चलखेल गरेर चिकित्सा शास्त्र अध्ययनका लागि कोटा निर्धारण हुन थालेपछि त्यसको विरोधमा प्रर्दशन गर्नुपरेको विद्यार्थी कामना केसीले जानकारी दिइन् ।
उनले मेरिटको आधारमा कोटा निर्धारण नगरेर आफूहरुमाथि डीन कार्यालयले अन्याय गरेको आरोप समेत लगाइन् ।
विद्यार्थीहरुले प्रशासनलाई कोटा निर्धारणमा धाँधली नगर्न पनि सचेत गराएका थिए । तर डीन कार्यालयले आफूहरुको मागलाई बेवास्ता गरेको विद्यार्थीहरुको गुनासो छ ।
मेरिटको आधारमा चिकित्सा शाष्त्र अध्ययनका लागि कोटा निर्धारण नगरेकोमा विद्यार्थीहरुको आपत्ति छ । उनीहरुले ५२ प्रतिशत नम्बर ल्याउने विद्यार्थीलाई कसरी चिकित्सा शास्त्र अध्ययनका लागि कोटा निर्धारण गरिएको भनि डीन कार्यालयलाई प्रश्न पनि गरेका छन् । मेरिट विपरित कोटा निर्धारण गरिएकोमा आफूहरुको आपत्ति रहेको विद्यार्थी कुशकुमार चौधरीले बताए ।
चिकित्सा शाष्त्र अध्ययन संस्थानले मेरिटको आधारमा चिकित्सा शास्त्र अध्ययनका लागि कोटा निर्धारण गर्नुपर्नेमा आर्थिक चलखेलको आधारमा कोटा निर्धारण गरेको भन्दै विद्यार्थीहरुले आईतबारबाट विरोध प्रर्दशन सुरु गरेका हुन् ।
संस्थानले चिकित्सा शास्त्र अध्ययनका लागि कोटा निर्धारण गर्दा आफूखुसी गर्ने गरेको गुनासो हरेक वर्ष आउने गरेको छ ।
प्रतिक्रिया दिनुहोस्