सरकारका काममा मन्त्री नै असन्तुष्ट, भन्छन्- ‘हिसाबकिताब गर्दैछौ’

काठमाडौं, २५ कार्तिक । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले सरकारका कामबाट आफू पनि सन्तुष्ट हुन नसकेको बताएका छन्। जनअपेक्षाअनुसार सरकारले काम गर्न नसकेको आरोप लागिरहेका बेला सरकारका मन्त्रीले नै सरकारका कामबाट सन्तुष्ट हुन नसकेको बताएका हुन्।
महोत्तरीको गौशालास्थित रेडियो रुपान्तरणले गरेको ‘आम मानिस, राज्य र मिडिया’ विषयक अन्तर्क्रियामा मन्त्री पोखरेलले सरकारका कामबारे आफू पनि मूल्यांकन गरिरहेको बतए। आफू मन्त्री भएको ९ महिना पुगेको र यसअवधिमा भएका कामको हिसाबकिताबमा आफू लागेको उनको भनाई छ।
‘के कति काम भएको छ भनेर हिसाबकिताब गरिहेको छु’, पोखरेलले भने, ‘अहिलेको काम देखेर म आफैं सन्तुष्ट छैन।’
मन्त्री पोखरेलले शिक्षा क्षेत्रमा बेथिति रहेको स्वीकार्दै आफू परम्परागत ढंगले नै विद्यालय चलाउने पक्षमा नरहेको बताए। स्थानीय तहहरूले गुणस्तरीक्ष शिक्षा दिन नसक्ने शिक्षकहरू भर्ती गरेको उनको जिकिर छ। ‘स्थानीय तहहरूले गुणस्तर नभएका शिक्षक विद्यालयमा भर्ना गरेका छन्।
यो मलाई पटकै मन परेको छैन,’ मन्त्री पोखरेलले भने, ‘परम्परागत रुपमा विद्यालय चलाउन म शिक्षा मन्त्री बनेको होइन।’ शिक्षा विकासका पूर्वधारहरूको पनि पूर्वाधार रहेको बताउँदै उनले थपे, ‘शिक्षाको जग बिग्रियो भने सुखी नेपाल र समृद्ध नेपालको हाम्रो सपना चकनाचुर हुन्छ।’
प्रतिक्रिया दिनुहोस्