सभापति देउवाको टिपण्णी-काङ्ग्रेसमा एकता र मेलमिलाप हुन् आवश्यक छ ;

काठमाडौं, कात्तिक २५ । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र मेलमिलाप आवश्यक रहेको बताएका छन् ।
प्रजातान्त्रिक विचार समाजले काङ्ग्रेसका संस्थापक नेता सुवर्ण शमशेरको ४१औँ स्मृति दिवसमा प्रकाशित गरेको मुखपत्र ‘चिन्तन’ को विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले काङ्ग्रेसमा एकता र मेलमिलाप आवश्यक रहेको बताएका हुन्।
नेपालको प्रजातान्त्रिक र समाजवादी आन्दोलनमा सुवर्ण शमशेरको योगदान स्मरणीय रहेको उल्लेख गर्दै उनले बिपी र सुवर्ण शमशेरले स्थापना गर्नुभएको मान्यता नै नेपाली काङ्ग्रेसको मार्गदर्शक नीति हो भने। सुवर्ण शमशेरको योगदानको विषयमा थप अनुसन्धान हुनुपर्ने बताउँदै सभापति देउवाले त्यो काम पार्टीले गर्ने जानकारी दिए।
कार्यक्रमका विशिष्ट अतिथि काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सुवर्ण शमशेरले सङ्घर्षको अवस्थामा पनि पार्टीलाई नीति र विधिअनुसार सञ्चालन गर्नुभएको स्मरण गरे।
काङ्ग्रेसमा एकता आवश्यक रहेको भन्दै नेता पौडेलले मुलुकको वर्तमान गम्भीर परिस्थितिलाई काङ्ग्रेसले आँकलन गर्न नसकेको र स्थिति यस्तै रहने हो भने सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान कार्यान्वयनमा थप जटिलता आउने चेतावनी दिए।
नेता पौडेलले सुवर्ण शमशेर त्यागी, दानी र कार्यकर्तालाई स्नेह गर्ने नेता हुनुहुन्थ्यो भने।
समाजको वर्तमान समितिले मुखपत्र ‘चिन्तन’को छैठौँ स्मृति अङ्क सुवर्ण शमशेर कृतित्व समेटेर प्रकाशित गरेको हो । यसअघि बिपी, गणेशमान, कृष्णप्रसाद र गिरिजाप्रसादलगायत नेताहरुको सम्झनामा समाजले विशेष अङ्क प्रकाशित गरिसकेको छ ।
प्रतिक्रिया दिनुहोस्