नेता प्रकाशमान सिंहले भने -कांग्रेस–कम्युनिष्टको कार्यगत एकता गरौं ‘

काठमाडौं,  कात्तिक २४ ।  प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न कांग्रेस–कम्युनिष्टबीच कार्यगत एकता गरेर अघि बढ्नुपर्ने प्रस्ताव अघि सारे का छन् ।
नेता सिंहले देशमा आर्थिक समृद्धि गर्न पनि सबै राजनीतिक दलहरु मिलेर अघि बढ्नुको विकल्प नरहेको स्पष्ट पारे । शनिबार गणेशमान सिंहको जन्मजयन्तीको अवसर पारेर काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले गणेशमान सिंहले कम्युनिष्टहरुसँग कार्यगत एकता गरेर २०४६ सालको जनआन्दोलन सफल भएको र सोही बाटोबाट अघि बढ्न सके मात्रै देशमा आर्थिक क्रान्ति गर्न सकिने पनि स्मरण गराए ।
प्राप्त उपलब्धिलाई जोगाउन आर्थिक क्रान्ति गर्नुपर्नेमा नेता सिंहले जोड दिए। पूर्व उपप्रधानमन्त्री समेत रहेका सिंहले नागरिकलाई सुख दिलाउन सबै राजनीतिक दलहरु एकजुट हुनुपर्ने आवश्यक्ता पनि औंल्याए ।
कार्यक्रममा बोल्दै कांग्रेसका अर्का नेता कृष्णप्रसाद सिटौलाले नागरिकको अपेक्षा अनुसार काम गर्न नसकेको भन्दै सरकारप्रति असन्तुष्टि व्यक्त गरे । उनले नागरिकको पक्षमा काम गराउने गरी जनमत सृजना गर्न नसकेको भन्दै पार्टी नेतृत्वको पनि आलोचना गरे ।
नेता सिटौलाले नेपालको लोकतान्त्रिक आन्दोलनमा सर्वोच्च नेता गणेशमान सिंहले पु¥याउनु भएको योगदानको पनि चर्चा गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्