वीरगंज महानगरपालिकामा नेतादेखि व्यापारी सम्म चुनावी मैदानमा

भदौ १८, काठमाण्डौ । स्थानीय निकायको तेस्रो चरणको चुनावमा वीरगंज महानगरपालिकामा नेतादेखि व्यापारी सम्म चुनावी रणभुमीमा रहेका छन । सबैभन्दा महत्वपूर्ण र ठूलो निकायका रुपमा वीरगंज महानगर भएकाले यसमा कसले वाजी मार्छ भन्नेमा चासो छ ।
वीरगञ्ज पछिल्लो समय मधेश आन्दोलनको केन्द्रविन्दुका रुपमा चर्चित छ । गणतन्त्र स्थापनायता तराई मधेशमा तीन पटक आन्दोलन भइसकेको छ । पछिल्लो पटकको आन्दोलनमा त करिब ६ महिना वीरगञ्जलगायत नाका ठप्प बने । जसले गर्दा त्यहाँको विकास निर्माण र आर्थिक गतिविधि प्रभावित बन्यो । अहिले वीरगञ्ज महानगरपालिका मेयरको खोजीमा छ । दलहरु मेयर छान्नका लागि मरिमेटेर लागेका छन् । तर अन्तिम छिनोफानो जनताले नै लगाउने हो ।
यस्तो छ वीरगंज महानगरपालिका:
प्रदेश नं. २ को एक मात्र महानगरपालिका वीरगञ्ज भएकाले पनि दलहरुले यसलाई जीत हार प्रतिष्ठाको विषय बनेको छ ।
प्रमुख पार्टीहरु काँग्रेस एमाले लगायत मधेशकेन्द्रित दलहरु यो महानगरलाई कब्जा गर्न आफ्नो सम्पूर्ण शक्ति खर्चेका छन् ।
महानगरमा ३२ वटा वडा छन् । एक लाख आठ हजार पाँच सय एक मतदाता रहेका छन् । यो नगरपालिका आर्थिक हिसावले समेत निकै
महत्वपूर्ण भएकाले यसलाइ राजनीतिक दृष्टिकोणले महत्वको साथ हेरिएको छ । विशेष गरी कांग्रेस, एमाले, राजपा र फोरम नेपाल लगायत पार्टिले वीरगञ्जको मेयर पदमा जित्ने दावी गरेका छन् ।
महानगरका उम्मेदवार यस्ता छनः
महानगरपालिकाको मेयरको उम्मेदवार सबैभन्दा पहिला एमालेले टुंग्यायो । उक्त पार्टी अहिले आक्रामक प्रचारमा देखिन्छ । एमालेले तीन महिनाअघि माओवादी केन्द्र छाडेर आएका बसरुद्दिन अन्सारीलाई उम्मेदवार बनाएको छ ।

नेसनल मेडिकल कलेजका प्रबन्ध निर्देशकसमेत रहेका अन्सारी दोस्रो संविधान सभा निर्वाचनमा माओवादी केन्द्रबाट पर्सा २ का उम्मेदवार थिए । निर्वाचनमा अन्सारीले ६ हजार दुई सय मत ल्याएका थिए ।

शैक्षिक गतिविधी र सामाजिक कार्यमा सक्रिय रहँदै आएका अन्सारी वीरगञ्ज महानगरपालिकाको प्रसौनी विर्ताका बासिन्दा हुन् । २८ हजार मुस्लिम मतमा एमालेले सोही समुदायका उम्मेदवार उठाएर सेन्टिमेन्ट क्यास गर्ने रणनीति बनाएको प्रष्ट हुन्छ ।

एमाले

उपमेयरकी उम्मेदवार सोफिया आचार्य छिन् । त्रिभुवन विश्वविद्यालयको अर्थशास्त्रकी उपप्राध्यापक आचार्य राजीनामा गरेर चुनावी मैदानमा उत्रिएकी छन् । बुद्धिजीवी संगठनमा रहिसकेकी उनी वीरगञ्ज रानीघाट निवासी हुन् ।

एमालेको भातृ संगठन अनेमसंघ र ठाकुरराम क्याम्पसमा प्रगतिशील प्राध्यापक संगठनमा समेत सक्रिय थिइन् उनी । र, एमाले पर्साका पूर्वअध्यक्ष चिरञ्जीवी आचार्यकी पत्नी हुन् ।

कांग्रेस

पूर्वसभासद तथा जिल्ला सभापति अजयकुमार द्विवेदीलाई मेयरको उम्मेदवार बनाएको छ । वीरगञ्ज उपमहानगरपालिकाको उपमेयर भइसकेका द्विवेदी पहिलो संविधानसभामा पर्सा २ बाट विजयी भएका थिए । उनी दोस्रो संविधानसभाको निर्वाचनमा सोही क्षेत्रबाट एमालेका बिचारी यादवसँग पराजित भए ।

विद्यार्थी राजनीतिबाट आएका द्विवेदी बौद्धिक र तार्किक नेताका रुपमा वीरगन्जमा स्थापित छन् । उपमेयरको उम्मेदवारमा विवाद बढेका कारण कांग्रेसले व्यक्ति तोक्न सकेको छैन ।

फोरम नेपाल

पाँच महिनाअघि पार्टी प्रवेश गराएका व्यापारिक घराना सरावगी गु्रपका अध्यक्ष विजय सरावगीलाई मेयरको उम्मेदवार बनाएको छ । वीरगञ्ज उद्योग वाणिज्य संघको अध्यक्ष भइसकेका सरावगी नेपाल उद्योग वाणिज्य महासंघका पूर्वकेन्द्रीय सदस्य हुन् ।

प्रतिष्ठित घरानाबाट उदाएका सरावगी सामाजिक र धार्मिक कार्यमा सक्रिय रहँदै आएका छन् । फोरम नेपालले उपमेयरको उम्मेदवार पिंकी यादवलाई बनाउने निर्णय गरेको छ । यादव मधेश आन्दोलनमा सक्रिय थिइन् । उनी फोरम नेपाल पर्साका अध्यक्ष प्रदीप यादवकी पत्नी हुन् ।

माओवादी केन्द्र

३१ वर्षीय रहबर अन्सारीलाई मेयरको उम्मेदवार बनाएको छ । माओवादी केन्द्रको जिल्ला सदस्य तथा केन्द्र निकट मुस्लिम मोर्चाका केन्द्रीय सदस्य हुन् उनी । विदेशबाट अध्ययन गरी फर्किएका अन्सारी गण्डक अस्पतालका निर्देशक हुन् ।

सामाजिक सञ्जालमा उनको उम्मेदवारीले निकै चर्चा पाएको छ । युवामाझ लोकप्रिय देखिन्छन्, उनी । माओवादी केन्द्रले पनि उपमेयरको उम्मेदवार टुंगो लगाएको छैन ।

नेपाल लोकतान्त्रिक फोरम उम्मेदवार घोषणा गरेको छैन । फोरम नेपाल र राजपाका असन्तुष्टका साथै कांग्रेस र एमालेका विद्रोहीहरुलाई लिएर उम्मेदवारी दिने रणनीति उनी पार्टीको देखिन्छ । राप्रपाले पनि उम्मेदवार चयन गरेको छैन ।

प्रतिक्रिया दिनुहोस्