काठमाडौं, कात्तिक २० । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले ५५ जिल्लामा बेपत्ता पारिएका व्यक्तिको विस्तृत अध्ययन सकेको छ ।
बेपत्ता पारिएका व्यक्तिको आफन्तको उजुरीका आधारमा आयोगले ती जिल्लामा पुगेर विस्तृत अध्ययन सम्पन्न गरेको आयोगका प्रवक्ता डा.विष्णुप्रसाद पाठक जानकारी दिए । तिहार र छठ पर्वपछि आयोगको टोली बर्दिया जाने तयारी गरेको छ । माघसम्म आयोगले सबै उजुरीको विस्तृत अध्ययन गर्ने योजनाका साथ काम गरेको छ ।
विस्तृत अध्ययनका क्रममा आयोगले उजुरीकर्ता, बेपत्ता व्यक्तिको आफन्त, व्यक्ति बेपत्ता पारिनुपूर्वको सूचना, पीडितसँग बकपत्र (को, कहिले, कहाँबाट, कसरी, कसले बेपत्ता पारेको) अध्ययन गरी परिपूरणका फाराम समेत भराउने काम गर्छ ।
आयोगमा गत साउन २६ गतेसम्म तीन हजार १९७ उजूरी परेको थियो । उजूरीमा अनुसन्धान गरी आयोगले दुई हजार ५१२ उजूरीमा विस्तृत अध्ययन अगाडि बढाएको छ ।
चार सदस्यीय विज्ञ टोली
बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले विस्तृत अध्ययनका क्रममा आवश्यक परामर्शका लिनका लागि चार जनाको विज्ञ समूह गठन गरेको छ । विज्ञ समूहमा कानून र न्याय सेवाका पूर्वकर्मचारी छन् । पूर्वसहसचिव कुमोदप्रसाद शर्मा, चन्द्रबहादुर सापकोटा, पूर्वशाखा अधिकृत केदारप्रसाद पोखरेल र कानून मन्त्रालयका कर्मचारी मुकुन्दप्रसाद अधिकारी विज्ञमा रहेका छन् । डा.पाठकका अनुसार विज्ञको समूहसँग आयोगले आवश्यक परेको समयमा परामर्श लिनेछ ।
तीन महिना बाँकी
बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले काम गर्नका लागि तीन महीना मात्र बाँकी छ । आगामी माघ २७ गते आयोगको समय सकिँदैछ । आयोगले तोकिएको समयभन्दा अगाडि विस्तृत अध्ययन सकेर पीडितसँग सुनुवाइ काम गर्ने तयारी गरेको छ तर आयोगले निर्धारित समयभित्र काम सक्ने देखिँदैन ।
सरकारले द्वन्द्वकालीन बेपत्ता पारिएका व्यक्तिको छानबिन गर्नका लागि सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग २०७१ माघ २७ गते दुई वर्षका लागि गठन गरेको थियो । हालसम्म आयोगको तीन पटकसम्म म्याद थप भइसकेको छ ।
थपिएको समय पनि तीन महिना मात्र बाँकी छ । आयोगले २०५२ फागुन १ देखि २०६३ मङ्सिर ५ गतेसम्म बेपत्ता पारिएका व्यक्तिको मात्र उजूरी लिएको छ । रासस
प्रतिक्रिया दिनुहोस्