उपत्यकामा बाम गठबन्धन १० स्थानमा विजयी, कांग्रेस ४ स्थानमा

काठमाडौं। काठमाडौं उपत्यकामा वाम गठबन्धनले उत्साहजनक नतिजा हासिल गरेको छ ।

१५ वटा निर्वाचन क्षेत्र रहेको काठमाडौं उपत्यकामा वाम गठबन्धनले १० स्थानमा जित हात पारेको छ ।

प्रतिनिधिसभातर्फ १० वटा निर्वाचन क्षेत्र रहेको काठमाडौंमा एमालेका उम्मेदवारहरु ६ स्थानमा विजयी भएका छन् ।

चार स्थानमा भने कांग्रेसका उम्मेदवार विजयी भएका छन् । एमालेले सहयोग गरेका तीन स्थानमा माओवादी केन्द्रले हार बेहोरेको छ ।

पछिल्लो परिणामअनुसार काठमाडौं क्षेत्र नम्बर ५ मा नेकपा एमालेका महासचिव ईश्वर पारखेल फराकिलो अन्तरले विजयी भएका छन् ।

उनी २३०२९ मत ल्याएर विजयी भए । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डा। प्रकाशशरण महतले १३१६९ मत प्राप्त गरे ।

काठमाडौं क्षेत्र नम्बर २ मा एमालेकै माधवकुमार नेपाल, ३ मा कृष्ण राई, ७ मा रामवीर मानन्धर, ८ मा जीवनराम श्रेष्ठ र ९ मा कृष्णगोपाल श्रेष्ठले जित हात पारेका छन् ।

काठमाडौं जिल्लामा नेपाली कांग्रेसले जित हात पारेका तीन वटा निर्वाचन क्षेत्रमा काठमाडौं १, ४ र १० रहेका छन् । काठमाडौं १ बाट प्रकाशमान सिंह, ४ बाट गगन थापा र १० बाट राजन केसी विजयी भएका हुन् ।

यता ललितपुरका तीन वटै क्षेत्रमा वाम गठबन्धनले जित हात पारेको छ ।

क्षेत्र नम्बर १ बाट नेकपा एमालेका नवराज सिलवाल, २ बाट कृष्णलाल महर्जन र ३ बाट माओवादी केन्द्रकी पम्फा भुसाल विजयी भइन् ।

त्यसैगरी भक्तपुरमा नेकपा एमालेले इतिहासमै पहिलो पटक संसदीय निर्वाचनमा विजय हासिल गरेको छ ।

क्षेत्र नम्बर २ मा एमालेका महेश बस्नेतले पूर्वसभामुख नेपाली कांग्रेसका उम्मेदवार दमननाथ ढुंगानालाई दोब्बर मतअन्तरले पराजित गरेका छन ।

उपत्यकामा मत परिणाम घोषणा हुन बाँकी एक मात्र क्षेत्र भक्तपुरमा १ मा नेमकिपाले अग्रता लिइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्