माथिल्लो तामाकोशी जलविद्युत कम्पनीको साधारण शेयरमा रु. छ अर्ब बढीको आवेदन
काठमाडौँ, १९ कार्तिक । माथिल्लो तामाकोशी जलविद्युत कम्पनीको साधारण शेयरमा रु. छ अर्ब बढीको आवेदन परेको छ । यही कात्तिक १५ गते बिहीबारदेखि बिक्री शुरु भएको सो कम्पनीको साधारण शेयरमा सोमबार साँझसम्म रु. छ अर्ब बराबरको आवेदन परेको हो । अन्तिम विवरण भने आउन बाँकि रहेको कम्पनीले जनाएको छ ।
निजी क्षेत्रका जलविद्युत् कम्पनीको साधारण शेयर बिक्न समस्या परिरहेका बेला माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको साधारण शेयरमा नागरिकको उल्लेख्य सहभागिता देखिएको हो ।
माथिल्लो तामाकोशी आयोजनाका प्रवक्ता डा गणेश न्यौपानेका अनुसार आज साँझसम्म तीन लाख बढीले आवेदन दिएका छन् । कम्पनीले रु एक अर्ब ५८ करोड बराबरको साधारण शेयर बिक्री गरेको हो । शेयर बिक्री प्रबन्धकमा नागरिक लगानी कोष र सनराइज क्यापिटल रहेका छन् ।
कम्पनीले दोलखाको लामाबगरमा ४५६ मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ । आयोजनाको कूल भौतिक प्रगति ९७ प्रतिशत रहेको छ । कम्पनीले निकट भविष्यमा नै रोल्वालिङ जलविद्युत् आयोजना निर्माण गर्ने तयारी गरेको छ ।
कम्पनीले गत बुधबार मात्रै दोलखावासीलाई बिक्री गरेको साधारण शेयरको बाँडफाँट गरेको थियो । कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता, ऋणदाता संस्थाका कर्मचारी, नेपाल विद्युत् प्राधिकरणका कर्मचारी, आयोजना प्रभावित दोलखावासी र सर्वसाधारणलाई शेयर बिक्री गरेपछि सो आयोजनाको सर्वसाधारण समूहको शेयर बिक्री प्रक्रिया सकिएको छ । सो समूहमा रु दश अर्ब बराबरको शेयर बिक्री गरिएको छ ।
निर्माणाधीन जलविद्युत कम्पनीले आगामी आर्थिक वर्षको कात्तिकदेखि व्यावसायिक उत्पादन शुरु गर्ने समयसीमा तोकिएको छ । चालू आ.व.को पुस मसान्तमा निर्माण सकिने कार्यतालिका अनुसार काम हुन नसक्नु, निर्माण व्यवसायीको कमजोरी लगायतका विविध कारणले आयोजनाको म्याद पर धकेलिएको हो । यसले कम्पनीले गर्दा प्रतिदिन पाँच करोड भन्दा बढि घाटा व्यहोर्नु परेको छ ।
–––















प्रतिक्रिया दिनुहोस्