कठमाडौं , १८ कात्तिक । गुल्मीको मदाने ६ पुर्कोटदहका दुर्गाबहादुर नेपाली पत्नी हत्याको अभियोगमा पक्राउ परेका छन् । कात्तिक १५ गते राति स्थानीयको घरमा उनले आफ्नी श्रीमती सीता नेपालीको हत्या गरेका थिए । तीन दिनदेखि फरार नेपालीलाई नजिकैको धाराचौर जङ्गलबाट प्रहरीले आइतबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
तिजमा माइत गएकी श्रीमती लामो समयसम्म घरमा नआएको रिस र मादक पदार्थ सेवन गरेको झोकमा श्रीमतीको हत्या स्वीकार गरेको प्रहरीले जनाएको छ । नेपालीलाई कर्तव्य ज्यान मुद्दाअन्तर्गत २५ वर्षभन्दा बढी जेल सजाय हुने प्रहरीले जनाएको छ । उनको तीन छोरा र एक छोरी छन् । श्रीमतीको हत्यापछि बालबालिकाको बिचल्ली भएको स्थानीयले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्