प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेख्य सुधार, रिपोर्ट सकारात्मक भएको अस्पतालको दाबि

काठमाडौं, कात्तिक १३ । प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार आएको चिकित्सकहरुले बताएका छन्।
आज बिहान विज्ञप्ति जारी गर्दै मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरले ओलीको स्वास्थ्य सुधारोन्मुख रहेको जनाएको हो। आज बिहान प्रधानमन्त्री ओलीको रगत परीक्षण गर्नुका साथै छातीको एक्स-रे गरिएको थियो। रिपोर्टहरु सकारात्मक रहेको अस्पताल निर्देशक डा उत्तमकृष्ण श्रेष्ठले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
प्रधानमन्त्री ओलीले बिहान सजिलैसँग ब्रेकफास्ट लिएको र दाह्री काटेको उनको उपचारमा संलग्न डा अरुण सायमीले जानकारी दिए।
उनको उपचारमा डा अरुण सायमीको संयोजकत्वमा डा दिव्या सिंह शाह र डा सन्तकुमार दासको टोली खटिएको छ।

शनिबारदेखि रुघाखोकीले ग्रस्त प्रधानमन्त्रीलाई सोमबार बिहान ४:३० बजे अस्पताल भर्ना गरिएको थियो।
प्रतिक्रिया दिनुहोस्