भेरी अञ्चल अस्पतालको स्तरोन्नतिका लागि प्रक्रिया सुरु भयो !

काठमाडौं,कात्तिक ११ । एकसय २५ वर्षअघि स्थापित भेरी अञ्चल अस्पताल नेपालगञ्जको स्तरोन्नतिका लागि प्रक्रिया सुरु भएको छ । सहरी विकास मन्त्रालयको पहलमा स्वास्थ्य मन्त्रालयलाई इन्डोर ब्लक निर्माणका लागि अर्थ मन्त्रालयले सैद्धान्तिक सहमति प्रदान गरेको छ ।
अस्पताललाई पाँचसय शैय्याको पु¥याउने गरी प्रक्रिया अघि बढेको बाँकेबाट निर्वा्चित प्रतिनिधिसभा सदस्य तथा शहरी विकास मन्त्री मो. इस्तियाक राईनले जानकारी दिए ।
भेरी अञ्चल अस्पतालको सुधारका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले असोज १७ गते अर्थ मन्त्रालयलाई पत्राचार गरी भेरी अञ्चल अस्पतालको आवास तथा नयाँ इन्डोर भवन निर्माणका लागि सहमति माग गरेको थियो ।
यसै अनुरुप कात्तिक ८ गतेको मन्त्रीस्तरीय निर्णयबाट इन्डोर ब्लक निर्माण कार्य अघि बढाउन अर्थ मन्त्रालयले सहमति प्रदान गरेको मन्त्री राईनले जानकारी दिए ।
२८ परिवार क्षमताको आवास गृह बनाउने सन्दर्भमा भने अर्थ मन्त्रालयले तत्काललाई स्रोत अपर्याप्त रहेको भन्दै सहमति प्रदान गर्न नसकिएको जनाएको छ ।
भेरी अञ्चल अस्पताल सुधारको प्रक्रिया चलिरहँदा क्याथ ल्याब (मुटु रोग सम्बन्धी) निर्माणार्थ अर्थ मन्त्रालयले डेढ करोड रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको थियो ।
भेरी अञ्चल अस्पतालको स्तर वृद्धि गर्दै ५ सय शैय्याको बनाउन पहल भइरहेको छ मन्त्री राईनले भने,– चाँडै नै भेरी अञ्चल अस्पताललाई अत्याधुनिक सुविधायुक्त बनाउन मेरो पहल जारी रहने छ ।’
भेरी अञ्चल अस्पतालमा स्वास्थ्यकर्मीहरुका लागि आवासीय भवन र बिरामीहरुका लागि इन्डोर भवन बनाउन १२ वर्षअघिदेखि पहल भैरहेको भए पनि सार्थक हुन सकेको थिएन । भेरी अञ्चल अस्पतालमा अहिले १ सय ५० शैय्या रहेको मेडिकल सुपेरिटेन्डेन्ट रुपानन्द अधिकारीले जानकारी जानकारी दिए।
बिरामीको चाप अनुसार इन्डोर ब्लकको आवश्यकता देखिएको अस्पतालका डक्टरहरुको भनाइ छ ।
मेडिकल सुपेरिटेन्डेन्ट अधिकारीले अहिले चिकित्सकहरुको आवास रहेको १, २ र ३ नम्बर ब्लकमा विरामीहरुका लागि इन्डोर ब्लक बनाउने योजना रहेको जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्