प्रतिक्षारत सेवाग्राहीले दुई महीनामा स्मार्ट कार्ड पाउने

काठमाडौँ, ६ कात्तिक । एक वर्षदेखि स्मार्ट लाइसेन्सको लागि पर्खेर बसिरहेकाहरुका लागि छिटो सेवा उपलब्ध गराउने उद्देश्यले यातायात व्यवस्था विभागले निजी कम्पनीलाई छाप्ने जिम्मेवारी दिएको छ ।
विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले मालिका इन्कर्पोरेट लिमिटेडलाई ट्रायल परीक्षा उत्तीर्ण गरी प्रतीक्षा सूचीमा बसेका सेवाग्राहीलाई चालक अनुमति पत्र दिने उद्देश्यले विभागले यो सम्झौता गरेको बताए । पाँच लाख बढी सेवाग्राहीले हाल परीक्षा उत्तीर्ण गरी अनुमति पत्र लिन प्रतीक्षा सूचीमा बसेको जानकारी दिए ।
लिमिटेडले ४५ दिनमा पाँचदेखि छ लाख स्मार्ट कार्ड लाइसेन्स छापी सक्ने गरी सम्झौता भएको हो । कार्ड छापेवापत कम्पनीले एउटा बराबर रु १५ पाउँछ । कार्ड, विद्युत्लगायत भौतिक साधन भने विभागले नै उपलब्ध गराउने उहाँले जानकारी दिनुभयो । विभागको मीनभवनस्थित कार्यालयमै कार्ड छापिने छ ।

दुई महीनामा प्रतीक्षा सूचीमा बसेका सबै लाभग्राहीले कार्ड पाइसक्ने व्यवस्था मिलाउन लागिएको विभागले जनाएको छ । प्रतीक्षा सूचीमा बसेकाको समस्या समाधान भएपछि विभागले अत्याधुनिक यन्त्रमार्फत दैनिक आठ हजार कार्ड छाप्ने तयारी गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्