बास्तोलाको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय राख्ने, आजै अन्त्यष्टि

काठमाडौं, २८ असोज । नेपाली काँग्रेसका दिवंगत नेता चक्रप्रसाद बास्तोलाको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि अपरान्ह १ः३०–४ः०० बजेसम्म पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिने छ र त्यसपछि पशुपति आर्यघाटमा आजै अन्त्यष्टि गर्ने तयारी छ ।
शनिबार राति खुमलटारस्थित निवासमा निधन भएका बास्तोलाको आइतबार अपराह्न ४ बजेपछि अन्त्येष्टि गरिने कांग्रेस कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
बास्तोलाको पार्थिव शरीरलाई अहिले उनको खुमलटारस्थित निवासमा राखिएको छ । निवासमा बास्तोलाका शुभेच्छुक, आफन्त तथा कांग्रेसका नेता–कार्यकर्ताले श्रद्धाञ्जलीका लागि भेला भएका छन् ।

१४ पुस ०६९ मा विराटनगरको बन्धु भेलामा सहभागी हुने क्रममा ब्रेन अट्याक भएका बास्तोला त्यसयता अचेत थिए ।

२०४८ सालमा भारतका लागि नेपाली राजदूत रहेका बास्तोला ०५८ सालमा गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारका परराष्ट्रमन्त्री थिए ।
नेता वास्तोलाको निधनेले काँग्रेसको जिल्ला प्रशासनमा ज्ञापनपत्र बुझाउने कार्यक्रम स्थगित भएको छ । यसैबीच, नेपाली कांग्रेसले मूल्यवृद्धि नियन्त्रणको माग गर्दै ७७ वटै जिल्ला प्रशासन कार्यालयमार्फत् ज्ञापनपत्र बुझाउने आइतबारको कार्यक्रम स्थगित गरेको छ । पार्टी नेता तथा पूर्वमन्त्री बास्तोलाको निधन भएपछि कांग्रेसले पूर्वनिर्धारित कार्यक्रम स्थगित गरेको हो ।

मुख्यसचिव पौडेलले ज्ञापनपत्र बुझाउने कार्यक्रम हाललाई स्थगित भएको जानकारी दिँदै पछि तय गरिने बताए ।

प्रतिक्रिया दिनुहोस्