टि-२० विश्वकप छनोट: नेपाल दोस्रो ओभरमै १० विकेटले विजयी !

काठमाडौँ, असोज २४ । आईसीसी टि–२० विश्वकप एसिया उपक्षेत्रीय छनोट प्रतियोगितामा नेपाल १० विकेटले विजयी भएको छ ।
चीनले जितको लागि प्रस्तुत गरेको २७ रनको लक्ष्य नेपालले दोस्रो ओभरमा पूरा गरेको हो ।
चीनले नेपाललाई दिएको २७ रनको लक्ष्य नेपालले १.५ ओभरमा पूरा गरेको थियो । नेपालका विनोद भण्डारीले २४ तथा प्रदीप ऐरी ४ रनमा नट आउट रहे । टस जितेर पहिला फिल्डिङ गरेको नेपालले चीनलाई १३ ओभरमा २६ रनमा अल आउट गरेको थियो ।
नेपालका सन्दीप लामिछाने र बसन्त रेग्मी र ललित नारायण राजवंंशीले समान ३–३ विकेट लिए । एक जना ब्याट्सम्यानभने रन आउट भएका थिए । चीनका होङजियान याङले सर्वाधिक ११ रन जोड्नु बाहेक अरुले दोहोरो अंकमा रन बनाउन सकेनन् । दोस्रो ठूलो रन डेन्जिमाले ५ रन जोडेका थिए ।
यसैगरी चेनजिङ फिनले १ रन बनाए । चीनका अरु ब्याट्सम्यान शून्य रनमा आउट भए । ६ रन हुँदा पहिलो विकेट गुमाएको चीनले दोस्रो विकेट २१ रनमा खेर फालेको थियो । तर टिमको स्कोर २१ रननै हुँदा थप ४ विकेट गुमायो । टिमको स्कोर बोर्डमा ४ रन थप्दा चीनले सातौ विकेट गुमाएको थियो ।
त्यसपछि बाँकी एक रन जोड्दै स्कोर २६ पुग्दा चीन अल आउट भएको थियो । नेपाल एसिया उपक्षेत्रीय छनोट प्रतियोगिताको शीर्ष स्थानमा रहन अब सिंगापुरसँग प्रतिस्पर्धा गर्नुपर्ने छ । सिंगापुर अहिले दोस्रो स्थानमा छ । नेपाल र सिंगापुरले अहिलेसम्म शतप्रतिशत नतिजना निकालेका छन् ।
नेपालले लगातार पाँचौ जित दर्ता गर्दै अंकतालिकाको शीर्ष स्थानमा बलियो पकड बनाएको छ । चीन भने लगातार पाँचौ हारसँगै पुछारमा छ । नेपालले अब अन्तिम खेलमा सिंगापुरको सामना गर्नेछ ।
प्रतिक्रिया दिनुहोस्