सुदूरपश्चिमको राजधानी वन क्षेत्रमा बनाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट

कठमाडौं, असोज २३ । सुदूरपश्चिम प्रदेशको स्थायी राजधानी कैलालीको गोदावरी नगरपालिका वडा नम्बर २ र ४ मा बनाउने निर्णय विरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन परेको छ।

उक्त वडामा पर्ने अन्तर्राष्ट्रिय महत्वको जैविकमार्ग अन्तर्गतको चुरे भावर क्षेत्रको वन मासेर राजधानी बनाउन नहुने भन्दै धनगढी उपमहानगरपालिका वडा नम्बर ५ स्थायी घर भई हाल काठमाडौं बस्दै आएकी अधिवक्ता देवीकुमारी जोशीले सोमबार  सर्वोच्च अदालतमा रिट दर्ता गराएकी हुन्।

उनले उत्प्रेषण परमादेश लगायत जो चाहिने आज्ञा आदेश पूर्जी जारी गरी पाउँ’ भनेर रिट निवेदन दर्ता गराएकी छिन्।
अधिवक्ता जोशीले रिट निवेदनमा नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबार काठमाडौं विपक्षी र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट, प्रदेश सभामुख अर्जुनबहादुर थापा र राजधानी तथा नामाकरण सम्बन्धमा गठित विशेष समितिका संयोजक सांसद् तारा लामा तामाङलाई प्रतिवादी बनाएकी छन्।
प्रतिक्रिया दिनुहोस्