नेविसंघको विधान उल्टाएको भन्दै कांग्रेसका चार शीर्ष नेताको आपत्ति

काठमाडौं, असोज २२ ।  नेपाली कांग्रेसका चार शीर्ष नेताहरु रामचन्द्र पौडेल, कृष्ण सिटौला, प्रकाशमान सिंह र अर्जुन नरसिंह केसीले आइबारको कांग्रेसको बैठकमा नेपाल विद्यार्थी संघको विधानलाई बहुमतको आधारमा पारित गरेको भन्दै आपत्ति जनाएका छन् ।
चार नेताले विज्ञप्ती निकाल्दै आम विद्यार्थीको भावना विपरित भएको भन्दै आपत्ति जनाएका हुन् ।
नेपाल विद्यार्थी संघको केन्द्रीय समितिको बैठकले सर्वसम्मत रुपमा उमेर हद हटाउने निर्णय गर्दै पार्टी केन्द्रिय समितिलाई विधान पारित गर्नका लागि भदौ अन्तिम साता निर्णय पठाएको थियो ।  तर, सभापति देउवा समूहले बहुमतको बलमा नेविसंघको निर्णयलाई नै लत्याएर उमेरहद लगाएको भन्दै देउवा इतर समूहले आपत्ति जनाएका हुन् ।
कांग्रेसका नेता अर्जुन नरसिंह केसीले देउवा समूहले यो निर्णय गरेर लोकतान्त्रिक पद्धती प्रतिनै गम्भिर आघात पुर्‍र्याएको बताए । उनले भने ‘विधानलाई कांग्रेस केन्द्रीय समितिलाई अध्ययन गर्ने मौका नै नदिइ तत्काल प्रस्तुत गरिनु देउवा समूहको गम्भिर गल्ति हो ।’ पछिल्लो समय देउवा समूह पार्टीका भातृ संगठनमा कमजोर हुँदै गएको छ ।
कांग्रेसको नेता उत्पादन गर्ने मुहान मानिएको नेपाल विद्यार्थी संघमा पनि पराजित हुने डरले महाधिवेशन नै अनिश्चित गर्ने खेलमा देउवा समूह लागेको इतर समूहको आरोप छ ।  यस अघि नेपाल विद्यार्थी संघको बैठकले कार्तिक १६, १७ र १८ गते केन्द्रिय महाधिवेशन गर्ने निर्णय गरेको थियो ।
जस अनुसार असोजको महाधिवेशनको कार्यक्रम सुरु गर्नु परेको थियो। तर पार्टीले कुनै पनि निर्णय गर्न नसक्दा महाधिवेशन नै अनिश्चित बनेको छ ।
नेपाल विद्यार्थी संघको ११ औं महाधिवेशनको कार्यकाल भदौ २ गते नै सकिएको र मंसिर २ गते सम्म १२ औं महाधिवेशन नगरे नेपाल विद्यार्थी संघ स्वतः विघटन हुने छ ।
प्रतिक्रिया दिनुहोस्