काठमाडौं, असोज २० । पत्रकार चेतनाथ आचार्यको पाँचौं कृति ‘उपहार’ कथा संग्रह शुक्रबार राजधानीमा सार्वजनिक गरिएको छ । संस्कृतिविद् सत्यमोहन जोशीले विमोचन गरेको उक्त कृतिमा आठवटा कथा समेटिएका छन् ।
नेपाल चीन सम्बन्ध र चीनका नेपाल सरोकारका विषयमा नेपाली सञ्चारमाध्यमहरुमा नियमित रुपमा लेख्दै आएका पत्रकार आचार्यको कथा कृति उपहार माथि समिक्षा गर्दै संस्कृतिविद् जोशीले भाषा र साहित्यका माध्यमबाट देशलाई चिनाउने कामको उच्च मूल्यांकन हुने बताए ।
समालोचक प्रा. राजेन्द्र सुवेदी र कथाकार माया ठकुरीले कथाकारले उक्त कथासंग्रहमा समेटेका कथाहरु उच्च कोटीका रहेको र यसले समसामयिक साहित्यमा विशिष्ट स्थान ओगट्ने बताए ।
चिनियाँ अन्तर्राष्ट्रिय रेडियो ९सीआआई०को नेपाली सेवामा कार्यरत पत्रकार आचार्यको उपहारका भाषा सम्पादक समेत रहनु भएका लक्ष्मी पराजुली, सीआरआईकी नेपाली सेवा प्रमुख “बर्षा”लगायतले कृति र कृतिकारका बारेमा टिप्पणी गरेका थिए ।
मकालु प्रकाशन गृहद्वारा प्रकाशित उक्त कथा संग्रहको विमोचन सोही प्रकाशनका प्रोप्राइटर बासुदेव ढकालको अध्यक्षतामा भएको थियो ।
इलाममा जन्मिएका कथाकार आचार्यले यस कथा संग्रहमा संग्रहीत कथाहरु इलामको ग्रामिण परिवेशका यथार्थ र मौलिक शैलीमा लेख्नु भएको छ । यस अघि उनका दुईवटा कथा संग्रह ‘रित्तो कोठाको तस्विर’ र ‘बुद्धको उपहार’ तथा दुईवटा संस्मरणात्मक संग्रहहरु ‘मेरो आँखामा चीन’ र ‘चीन चियाउँदा’ प्रकाशित छन् ।
प्रतिक्रिया दिनुहोस्