काठमाडौं, असोज १० । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले सरकारले जनचाहनाअनुसारको काम गर्न नसकेको स्वीकार गरेका छन् ।
नेपाल पर्यटन यातायात व्यवसायी संघको १५औं साधारणसभाको बुधबार काठमाडौंमा उद्घाटन गर्दै उनले जनचाहनाअनुसारको काम सरकारले गर्न नसकेकाले पार्टी र सरकारले समीक्षा गर्ने बताए ।
प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्केपछि सरकारको कामलाई प्रभावकारी बनाउने विषयमा गम्भीर छलफल हुने उनको भनाइ थियो ।
अध्यक्ष दाहालले नेपालको आर्थिक क्षेत्रको मेरुदन्डकारुपमा रहेको पर्यटन उद्योगको विकासबिना मुलुकको समृद्धि अगाडि बढ्न नसक्ने बताए । पर्यटन क्षेत्रलाई सरकारले प्राथमिकता दिनुपर्ने उनको भनाइ थियो ।
पञ्चायतकालीन ऐन–कानुन विकासमा बाधक देखिएकाले त्यस्ता कानुन परिमार्जन गर्नुपर्नेमा उनले जोड दिए ।
अध्यक्ष दाहालले सरकारले व्यवसायीमाथि थिचोमिचो र सौतेनी व्यवहार नगरी सहुलियत दिनुपर्ने पनि बताए ।
प्रतिक्रिया दिनुहोस्