क्याम्पसमा प्राध्यापकले नै लगाए ताला, दुई सातादेखि क्याम्पस प्रमुख बाहिरै

काठमाडौँ, असोज ९ ।  विराटनगर महानगरपालिका– १४ मा रहेको स्नातकोत्तर (डिग्री ) क्याम्पसको क्याम्पस प्रमुखको नियुक्तीको बिषयलाई लिएर प्रमुखको कार्यकक्षमा लगाइएको ताला अझै खुलेको छैन । दुई सातादेखिको तालाबन्दीले पठनपाठनसँगै प्रशासनिक काम प्रभावित भएको छ ।
नियम विपरित अन्य क्याम्पसका प्राध्यापकलाई क्याम्पस प्रमुख नियुक्त गरिएको भन्दै प्राध्यापकसम्बद्ध संघसंगठनले क्याम्पस प्रमुखको कार्यकक्षमा अनिश्चितकालिन तालाबन्दी गरेका हुन् ।
त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पसको रुपमा रहेको स्नात्तकोत्तर क्याम्पसको क्याम्पस प्रमुखको कोठामा प्राध्यापक सम्बद्ध संघसंस्थाका पदाधिकारीहरुले तालाबन्दी गरेको हुन् ।
महेन्द्र मोरङ क्याम्पसमा अध्यापनरत प्राध्यापक महेश खत्रीलाई नियम विपरित त्रिविले क्याम्पस प्रमुखमा नियुक्ति गरेको बिरोधमा तालाबन्दी गरिएको त्रिवि प्राध्यापक संघ स्नातकोत्तर क्याम्पस इकाइका सचिव डा। रमेशकुमार श्रेष्ठले जानकारी दिए ।
बरिष्ठताको आधारमा क्याम्पसभित्रकै प्राध्यापकहरु मध्येबाट क्याम्पस प्रमुख नियुक्त गर्नुपर्ने नियम रहेपनि राजनीतिक भागबण्डाका कारण अन्य क्याम्पसका प्राध्यापकलाई क्याम्पस प्रमुखमा नियुक्त गरेकोले तालाबन्दी गरिएको श्रेष्ठ बताए ।
चरम राजनीतिले क्याम्पसको पठनपाठन प्रभावित हुँदा पछिल्लो समय विद्यार्थीको संख्या पनि घट्दै गएको छ । २०६४ सालमा क्याम्पसमा २ हजार विद्यार्थी अध्यनरत रहेकोमा हाल २ सय विद्यार्थी पनि पुग नपुग छन् । क्याम्पसमा ६५ जना प्राध्यापकहरु कार्यरत रहेका छन ।
कार्यकक्षमैं तालाबन्दी गरिएपछि भदौ २६ गते त्रिविबाट नियुक्ती लिएर २७ गते पदभार ग्रहण गर्न आएका नवनियुक्त क्याम्पस प्रमुख महेश खत्री कार्यकक्ष बाहिरै बसेर कार्यसम्पादन गर्दै आएका छन् ।
प्रतिक्रिया दिनुहोस्