देशभर चल्ने बस र ट्रकको नयाँ भाडादर सार्वजनिक , कहाँबाट कहाँ पुग्दा कति भाडा लाग्छ ?

काठमाडौं, ८ असोज । सरकारले सार्वजनिक सवारी साधनको नयाँ भाडा दर कायम गरेको छ । यातायात व्यवस्था विभागले शहरी क्षेत्र र लामो दूरीमा चल्ने सवारी साधनको नयाँ भाडादर सार्वजनिक गरेको हो ।
शनिबार सरकार र यातायात व्यवसायीबीच भएको सहमतिअनुसार नयाँ भाडादर कायम गरिएको हो ।
विभागको नयाँ व्यवस्थाअनुसार काठमाडौं उपत्यकामा न्यूनतम भाडादर १४ रुपैयाँ तथा अधिकतम २७ रुपैयाँ तोकिएको छ । न्यूनतम चार किलोमिटर यात्रा गर्दा यात्रु १४ रुपैयाँ तिर्नुपर्नेछ । यसअघि १३ रुपैयाँ न्यूनतम भाडा भए पनि सवारी साधनले यात्रुसँग १५ रुपैयाँ लिँदै आएका थिए ।
नयाँ व्यवस्थाअनुसार पाँच किलोमिटरसम्म १६, छ किलोमिटरसम्म १७, आठ किलोमिटरसम्म १८, १० किलोमिटरसम्म २१, तेह्र किलोमिटरसम्म २३, सोह्र किलोमिटरसम्म २५, उन्नाइस किलोमिटरसम्म २६ र त्यसभन्दा माथि २७ रुपैयाँ भाडा कायम भएको छ ।
यस्तै चक्रपथ बाहिर चार किलोमिटरभन्दा बढी दूरी भएमा प्रतिकिमी दुई रुपैयाँ पाँच पैसाका दरले हिसाब गरी भाडा लिने व्यवस्था गरिएको छ । तराईको लामो दूरी अर्थात् २५० किलोमिटरभन्दा बढी पक्की र ग्राभेल बाटोमा सञ्चालन हुने यात्रु बस, मिनीबसका लागि प्रतिकिलोमिटर एक रुपैयाँ ९० पैसा भाडादर कायम गरिएको छ ।
तराई र उपत्यकामा २५ किलोमिटरदेखि २५० किलोमिटरसम्म दूरीका पक्की र ग्राभेल बाटोमा सञ्चालन हुने यात्रुवाहक बस, मिनिबसका लागि प्रतिकिलोमिटर एक रुपैयाँ ९५ पैसा भाडा दर र काठमाडौँ–पोखरा र पोखरा नारायणगढ खण्डका लागि प्रतिकिलोमिटर दुई रुपैयाँ नौ पैसा भाडा कायम गरिएको छ ।
यस्तै मिटर जडित सार्वजनिक भाडाका ट्याक्सीको प्रतिकिलोमिटर भाडा दर ३९ रुपैयाँ कायम गरिएको छ । प्रति २०० मिटरमा साविकको सात रुपैयाँलाई बढाएर सात रुपैयाँ ८० पैसा कायम गरिएको छ ।
विभागले देशभरका ५०१ गन्तव्यको नयाँ भाडा दर कायम गरेको हो ।
मालसामान ढुवानीका लागि प्रयोग हुने ट्रक तथा कन्टेनरको समेत नयाँ भाडा दर कायम गरिएको छ । मालबाहक ट्रक तथा कन्टेनरको हकमा वीरगञ्ज–काठमाडौँको भाडा २० हजार ७७३, वीरगञ्ज–पोखरा १८ हजार ८८३ कायम भएको छ भने काँकडभिट्टा–महेन्द्रनगरको भाडा ४५ हजार १८९ रुपैयाँ कायम गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्