चीन जोड्ने सडकको डिपिआर संशोधन तयारी
काठमाडौं, असोज ७ । चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने छोटो दूरीको मैलुङ–स्याफ्रुबेँसी सडकको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) संशोधन हुने भएको छ।
गत असारमा डिपिआर तयार गरिएको थियो। वर्षाका कारण सडकमा थप क्षति भएकाले डिपिआर संशोधन गर्न लागिएको हो। गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक योजनाले दुई वर्षभित्र नवनिर्मित यो सडकको स्तरोन्नतिको कार्य गर्नेछ।
नयाँ ट्रयाक खोलिएको सडकका धेरै स्थानमा पहिरो गएको छ। ‘पहिरोले सडकको धेरै स्थानमा क्षति पु¥याएको छ,’ योजना प्रमुख सुबोधकुमार देवकोटाले भने, ‘पुरानो डिपिआरअनुसार काम हुनसक्ने देखिँदैन।’
डिपिआर संशोधनको तयारी भइरहेको योजना प्रमुख देवकोटाले बताए। उनले भने, ‘हामी संशोधनको तयारीमा लागेका छौं। कहिलेसम्म सकिन्छ भन्न सकिन्न।’ पानी पर्ने क्रम नरोकिएको कारण त्यहाँ जाने अवस्था नरहेको योजनाले जनाएको छ।
‘पानी पर्न रोकिएपछि हामी त्यहाँ जान्छौँ,’ योजना प्रमुख देवकोटाले भने, ‘पहिरो खस्ने क्रम नरोकिँदासम्म डिपिआर संशोधन गर्न सकिँदैन।’ नवनिर्मित सडकका एक दर्जन स्थानमा पहिरो गएको छ। डिपिआर सकिएपछि टेन्डर प्रक्रियामा जाने योजनाले जनाएको छ।















प्रतिक्रिया दिनुहोस्