प्रधानमन्त्रीको दावी : सुशासन र आर्थिक विकास सरकारको मूल लक्ष्य !

काठमाडौं, २ असोज । प्रधानमन्त्री केपी ओलीले सुशासन र आर्थिक विकास नै सरकारको मूल लक्ष्य रहेको बताएका छन् । प्रधानमन्त्री ओलीले मुलुकलाई सुशासन र आर्थिक विकासको बाटोमा अघि बढाउने गरी शैक्षिक नीति तथा कार्यक्रम तय गर्न पनि सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।
मंगलबार त्रिभुवन विश्वविद्यालय सभाको साधारणसभालाई सम्बोधन गर्दै उनले मुलुकलाई समृद्ध बनाउन आवश्यक शिक्षित, सक्षम र दक्ष जनशक्ति बनाउने गरी शैक्षिक नीति तथा कार्यक्रम बनाउनुपर्ने आवश्यक्ता पनि औंल्याएका हुन् ।
त्रिभुवन विश्वविद्यालयका कूलपति समेत रहेका प्रधानमन्त्री ओलीले मानव उचित सभ्य र सुसंस्कृत समाज निर्माण हुने गरी राज्यले शैक्षिक नीति लिनुपर्ने पनि स्पष्ट पारे ।  प्रधानमन्त्री ओलीले दिगो विकास लक्ष्य हासिल हुने गरी अघि बढन पनि त्रिभुवन विश्वविद्यालयलाई सचेत गराए ।
कार्यक्रममा बोल्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले त्रिभुवन विश्वविद्यालयले अपेक्षित प्रगति गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरे । उनले विश्वविद्यालयका पदाधिकारीको नियुक्ति कार्य क्षमताको आधारमा गर्ने उल्लेख गर्दै परिवर्तित समयलाई सम्बोधन हुने गरी काममा लाग्न पनि विद्यालयलाई पदाधिकारीलाई सचेत गराए ।
त्रिभुवन विश्वविद्यालयका सहकूलपति समेत रहनु भएका मन्त्री पोखरेलले विश्वविद्यालयलाई तदर्थवादको रुपमा चलाउन नहुने पनि स्पष्ट पारेका थिए ।
प्रतिक्रिया दिनुहोस्