निजगढ विमानस्थल पिपिपि मोडेलमा बनाइने, ‘एसियाकै नमुना बनाएरै छोड्ने’ – मन्त्री अधिकारीको दाबि

काठमाडौं, ३१ भदौ।  संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीले बाराको निजगढमा बन्ने दोस्रो अन्र्तराष्ट्रिय विमानस्थल एसिया क्षेत्रको ट्रान्जिट हवको रुपमा निर्माण हुने बताएका छन् । शनिबार नागरिक उड्डन प्राधिकरणले गरेको पत्रकार भेटघाटमा मन्त्री अधिकारीले अन्र्तराष्ट्रिय विमानस्थल नबन्ने हो कि भनेर शंका नगर्न आग्रह गरे ।
मन्त्री अधिकारीले त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थल, बन्दै गरेको गौतमबुद्ध अन्र्तराष्ट्रिय विमानस्थल, पोखरा अन्र्तराष्ट्रिय विमानस्थल ट्रान्जिटका लागि सानो हुने भएकोले बारामा नेपालको सबैभन्दा ठूलो र एसियाकै नमुना अन्र्तराष्ट्रिय विमानस्थल बनाउने दावी गरे ।
उनले भने– ‘पोखरा, भैरहवा, काठमाडौंमा ट्रान्जिट सम्भव छैन, निजगढमा मात्रै सम्भव छ, यो एसिया प्यासिफिक क्षेत्रको ट्रान्जिट हब हुन्छ, यसले मुलुकको रोजगारीमा कायापलट गर्छ । यो सानो आयोजना हैन, संसारमा चलिरेहका ठूला परियोजनामध्ये एक हो ।’
उनले आफू विकास समितिको सभापति हुँदादेखि नै यसबारे चासो राखेर विमानस्थलको चार किल्ला तोक्न लगाएको र निर्माणस्थलमा कार्यालय खोल्न सरकारलाई निर्देशन दिएको फलस्वरुप आज ति काम पूरा भएको बताए ।
उनले भने– ‘मैले विकास समितिको सभापति हुँदादेखि नै फास्टट्रयाक र दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणबारे कुरा उठाउँदै आएको थिएँ । अहिले म कार्यान्वयन गर्ने ठाँउमा आएको छु । यी दुईको निर्माण भयो भने हामी आर्थिक रुपमा धेरै अगाडि बढ्छौँ । २३ बर्ष अघि कुरा उठेको र त्यहि बेलामा निर्माण भएको भए हामी धेरै अगाडि पुगिसक्थ्यौँ ।’
मन्त्री अधिकारीले बाराको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल सबै राजनीतिक पार्टीको साझा एजेण्डा भएको बताउँदै सबै दलले यसलाई आफ्नो चुनावी घोषणापत्रमा समेत समावेश गरेकोले यो योजनामा राष्ट्रिय सहमति रहेको उल्लेख गरे ।
विमानस्थल निर्माणको मोडालिटीको बारेमा सरकार स्पष्ट रहेको बताउँदै उनले पहिला सरकार आफैले निर्माण गर्ने कि भन्नेबारेमा कुरा भएपनि सरकार आफैँले बनाउन नसक्ने भएपछि सार्वजनिक–निजी साझेदारी अर्थात पिपिपी मोडेलमा बनाउने मानसिकतामा पुगेको बताए ।
मन्त्री अधिकारीले यो आयोजनाको डिपिआरको काम पनि शुरु भएको बताउँदै बातावरणीय प्रभाव मुल्याङ्नमा पास भएको र रुख कटान शूरु गर्ने र नेपालको कानुन प्रक्रिया बमोजिम छुट्टै संयन्त्र बनाएर रुख रोप्ने काम पनि अघि बढाउने उल्लेख गरे ।
उनले जग्गा अधिग्रहणको प्रक्रिया, साइट अफिस निर्माणको अघि बढेको बताउँदै ८ हजार हेक्टरको वातावरण प्रभाव मुल्याङ्कन भएको र २५ सय हेक्टरमा मात्रै विमानस्थल निर्माण गर्ने प्रस्ताव वन मन्त्रालयमा पठाएको उल्लेख गरे । उनले कम भन्दा कम वातावरणीय क्षतिका साथ विमानस्थल निर्माण गर्ने जानकारी दिए ।
साथै मन्त्री अधिकारीले अर्को बर्षसम्म भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निमार्ण भइसक्ने र सन् २०२१ जुलाई १० भित्र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भइसक्ने दावी पनि गरे ।
प्रतिक्रिया दिनुहोस्