एक हप्ताभित्र भू–बहाल सम्झौता गर्न उद्योगीलाई सेजको अल्टिमेटम

काठमाडौं, भदौ २९ ।   भैरहवास्थित विशेष आर्थिक क्षेत्र (सेजं) मा दर्ता भएका छ वटा उद्योगले तोकिएको अवधिमा भू–बहाल शुल्क नबुझाएपछि विशेष आर्थिक क्षेत्र प्राधिकरणले एक साताभित्र भू–बहाल सम्झौता गर्न अल्टिमेटम दिएको छ ।
विशेष आर्थिक क्षेत्र प्राधिकरणले बिहीबार सूचना प्रकाशित गर्दै एक साताभित्र भू–बहाल सम्झौता गरी उद्योग स्थापना प्रक्रिया अघि नबढाए उद्योग सञ्चालनको अनुमतिपत्र खारेज गर्ने चेतावनी दिएको छ ।
विशेष आर्थिक क्षेत्र विकास समितिका अनुसार उद्योग सञ्चालनको अनुमति लिएका छ वटा उद्योगले भू–बहाल सम्झौता गरेका छैनन् ।
भू–बहाल सम्झौता नगर्नेमा एक्सेल गार्मेन्ट प्रोसेसिङ इन्डस्ट्रिज प्रालि, किरण सुज म्यानुफ्याक्चर्स, मिनरल वाटर इन्डस्ट्रिज, एसियन थाई फुड्स प्रालि, श्यामकुमार लोनियाको उद्योग र जगदम्बा सिन्थेटिक प्रालि रहेका छन् ।
तीमध्ये एसियन थाई फुड्सले छ वटा प्लटको लागि अनुमति लिएको थियो । प्रालिका सञ्चालक महेशकुमार जाजुु विदेश भ्रमणमा रहेकाले सम्पर्क हुन नसकेको सो्रतले जनाएको छ। उद्योगका कानुन अधिकृत गोपालमान भण्डारीले सञ्चालक विदेश गएकाले यसबारेमा आफूले केही भन्न नसक्ने बताए ।
किरण सुजले भने पुरानो मेसिन प्लटभित्र लैजान पाउनुपर्ने माग गर्दै निवेदन दिएको थियो तर पुरानो मेसिन र उपकरण लैजान पाउने प्रावधान नभएको र लैजानै परे समितिको सिफरिसका आधारमा मन्त्रिपरिषद्ले निर्णय गर्नुपर्ने अवस्था रहेकोले यो लामो प्रक्रिया लाग्ने विशेष आर्थिक क्षेत्र विकास समितिका सूचना अधिकृत सुन्दर थापाले बताए।
प्राधिकरणका कार्यकारी निदेर्शक चण्डी भट्टले भने , “ भू–बहाल सम्झौता गर्न बाँकी छ वटा उद्योगले २५ वटा प्लटको अनुमति पाएका थिए । यसका लागि करिब ३० लाख रुपियाँ शुल्क बुझाउनु पर्छ । हामीले पटकपटक सम्झौताका लागि बोलाउँदा पनि उद्योगी आएनन्, अब सम्झौता नभए अनुमति खारेज गर्नुको विकल्प छैन।”
यसअघि सेजमा दर्ता भएका १८ उद्योगले छ महिनाको झण्डै ७० लाख रुपियाँ अग्रिम भू–बहाल शुल्क बुझाएका छन् ।
आउँदो कात्तिकभित्रै उद्योग सञ्चालनमा ल्याउने गरी शक्ति मिनरल्स प्रालिले असारमा उद्योग स्थापना गरेको हो । अरु १७ वटा उद्योगले पनि छ महिनाको अग्रिम भू–बहाल तिरेर उद्योग स्थापना गरेको विशेष आर्थिक क्षेत्र विकास समितिले सुचनामा जनाएको छ ।
मुलुककै पहिलो निर्यातमुखी योजना अन्तर्गत स्थापना भएको सेजमा शक्ति मिनिरल्सले बहालबापत ११ लाख पाँच हजार अग्रिम भुक्तानी तिरेको छ । त्यस्तै एस प्लास्टिक प्रोडक्ट्स निकासी युनिटले ८८ हजार, नुमेटल इन्डस्ट्रिजले १० लाख ७४ हजार, एलईडी लाइट म्यानुफ्याक्चर इन्डस्ट्रिजले एक लाख ४४ हजार रुपियाँ बहाल तिरेका छन् ।
एक्सन पोलिमर्सले एक लाख ४० हजार, सिद्धार्थ पेट प्लास्ट इन्डस्ट्रिजले चार लाख २० हजार, सिद्धार्थ पेट प्लास्ट इन्डस्ट्रिज (प्रिफर्म क्लोजर्स) ले दुई लाख ८६ हजार, नियर इन्डस्ट्रिज प्रालि (ट्रान्स हिमालय) ले छ लाख ८६ हजार ८२० रुपियाँ बहाल तिरेका छन् ।
सेजमा स्थापनाको तयारी गरेका ग्रोभेल इन्नोभेसन प्रालिले दुई लाख ६४ हजार, बुद्ध न्याप्किन एन्ड टिस्यु पेपरले दुई लाख ८० हजार, सुगम नानो हर्बल इन्डस्ट्रिजले छ लाख ५३ हजार ७९० रुपियाँ अग्रिम बहाल तिरेका छन् ।
यस्तै चारवटा उद्योग स्थापना गर्ने पञ्चकन्या गु्रप इन्डस्ट्रिजले छ लाख १६ हजार रुपियाँ बहाल तिरेको छ । आईटीएस इलेक्ट्रिकल्स प्रालिले सात लाख ५९ हजार बहाल तिरेको छ भने क्रियसन वल्र्डवाइज प्रालिले एक लाख ६५ हजार तिरेको सेज विकास प्राधिकरणले जनाएको छ ।
बढ्दो व्यापार घाटा कम गर्न भन्दै सरकारले १७ वर्ष अघि निर्यातजन्य उद्योग स्थापना गर्ने उद्देश्यले पहिलो सेज भैरहवामा निर्माण गरेको हो ।
प्रतिक्रिया दिनुहोस्