तीज पर्वको रमझमः तीजको अघिल्लो दिन आज दर खाएर मनाईदै

काठमाडौं, भदौ २६ ।  हिन्दू नेपाली महिलाले मनाउने चाड तीजको अघिल्लो दिन आज विभिन्न मीठा मीठा परिकारका साथ दर खाईंदैछ ।
हरितालिका तीजका दिन निराहार व्रत बस्नका लागि अघिल्लो दिन मिष्ठान्न परिकारका साथ दर खाने परम्परा छ ।
तीजको मुख्य दिनको अघिल्लो दिन दर खाने गरिन्छ । दर खाने दिनदेखि हरितालिका तीज सुरु हुन्छ ।
टाढाका चेलीबेटी यस दिन माइतीघर वा आफन्तकहाँ खीर, गुँद, हलुवा, ढकनी, घिउ, दही, दूध, मिठाइ, फलफूललगायतका मीठा परिकारलाई दरको रुपमा खाने गर्दछन् ।
दर खाएको भोलिपल्ट निराहार ब्रत बस्ने भएकाले त्यसको आडका लागि अघिल्लो साँझ पौष्टिक तत्वयुक्त खानेकुरा खाने चलन छ ।
हरितालिका तीजका बेला पानीसमेत नखाई ब्रत बस्ने र धेरै नाचगान गरिने हुनाले शक्ति आवश्यक हुन्छ । दरखाने समय र स्थान भने ठाउँ अनुसार फरक फरक रहेको छ ।
कतै साँझमा अरु चीज नखाई दर खाने प्रचलन छ भने कतिपय स्थानमा पहिला खाना खाएर मध्य रातमा दर खाने गरिन्छ ।
पहिलेका दिनमा हरितालिका दिनको एक दिनमात्र दरखाने परम्परा रहेपनि आजभोलि राजधानीलगायतका क्षेत्रमा एक महिनादेखि नै दर खाने गर्दछन् ।
परापूर्वकालमा हिमालय पुत्री पार्वतीले शिवलाई स्वामी पाउँ भनि निराहार ब्रत बसेको र उनको कामना पूरा भएको विश्वासमा राम्रो पति पाउन र विवाहितहरुले पतिको सुस्वास्थ्य, दीर्घायु र प्रगतिको कामना गर्दै ब्रत बस्ने चलन छ ।
प्रतिक्रिया दिनुहोस्