चारदिने भारत भ्रमण सकेर स्वदेश फर्किए प्रचण्ड, असोज १ गते चीन जाने

 काठमाडौं, २४ भाद्र । नेकपाका अध्‍यक्ष पुष्पकमल दाहाल प्रचण्ड चारदिने भारतको भ्रमण सकेर स्वदेश फिर्ता भएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले भारत भ्रमण निक्‍कै फलदायी रहेको बताए।
उनले भने, ‘ भारतको भ्रमण निक्‍कै फलदायी रह्‍यो। नेपालमा डुबानको समस्‍या देखि पश्‍चिममा बाटो बनाउने र विराटनगरमा भारतीय दूतावासको क्‍याम्प अफिस हटाउने विषयमा भारतका प्रतिष्ठित नेताहरुसँग सकारात्मक छलफल भयो। ‘
नेपालमा बलियो सरकार बनेको र स्थिरता आएको भन्‍दै भारतीय नेताहरुले समृद्धि र विसकामा भारत सधैं साथ दिने बताएको उनले पत्रकार सम्‍मेलनमा उल्लेख गरे।
उनले भ्रमणमा रहँदा आफूले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री राजनाथ सिंह, भारतीय विदेश मन्त्री सुष्मा स्वराजलगायत अन्य राजनीतिक व्यक्तित्वसँग भेटवार्ता गरेको बताएका थिए।
भारतको भ्रमण पछि उनी असोज १ गते चीन भ्रमणमा जाने कार्यक्रम तय गरिएको छ। उनले दुवै देशसँग विगतमा गरिएका सहमति कार्यान्वयनको वातावरण बनाउन आफूले दुवै देशको भ्रमण गर्न चाहेको स्पष्टिकरण दिँदै आएका छन् ।
प्रतिक्रिया दिनुहोस्