सिन्धुपाल्चोकको एक विद्यालयमा चार शिक्षक, पाँच विद्याथी

काठमाडौं, भदौ २४ । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११, सालबिसौनाको भैरवीदेवी आधारभूत विद्यालय विद्यार्थी अभावमा बन्द हुने अवस्थामा पुगेको छ ।

यस विद्यालयमा जम्मा पाँच जना विद्यार्थी मात्र नियमित विद्यालय आउँछन् । चार शिक्षक भए पनि एक÷दुई शिक्षक मात्र विद्यालय जान्छन् ।२०७२ सालको भूकम्पले भवन भत्काएको विद्यालयमा राम्रोसँग पठनपाठन हुन नसकेको स्थानीयले बताएका छन् ।

स्थानीय प्रेमबहादुर तामाङको २ कोठे घर भाडामा लिएर अस्थायी रुपमा पढाइ सञ्चालन गर्न लागे पनि विद्यालय व्यवस्थापन समिति, स्थानीयवासी र शिक्षकहरुको बेवास्ताका कारण विद्यालय बन्द हुने अवस्थामा पुगेको हो । शिक्षक तथा विद्यार्थी विद्यालयमा आए नआएको दैनिक हाजिरी रेकर्ड समेत विद्यालयमा छैन ।

प्रधानाध्यापक कमला जोशी विद्यालय व्यवस्थापन समितिको बेवास्ताका कारण विद्यालय यो अवस्थामा पुगेको बताउछन् । स्रोत व्यक्ति भीम कार्की मेलम्ची नगरभित्र अरु सात विद्यालयको अवस्था पनि यस्तै रहेकाले अब कसरी अगाडि बढ्ने भनेर सोच्नुपर्ने अवस्था आएको बताउछन् ।
जल्ला शिक्षा तथा समन्वय इकाइबाट भवन निर्माणका लागि बजेट आए पनि अहिलेसम्म भवन निर्माणको काम सुरु हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्