आज विश्व साक्षरता दिवस विभिन्न कार्यक्रम गरी मनाइदैँ, ३ लाख सर्वसाधारण अझै निरक्षर !

काठमाडौं,२३ भदौ। आज सेप्टेम्बर ८, अर्थात विश्व साक्षरता दिवस र राष्ट्रिय शिक्षा दिवस विभिन्न कार्यक्रम गरी मनाइदैँछ । सन १९६५ मा यूनेस्कोले हरेक वर्षको सेप्टेम्बर ८ लाई विश्व साक्षरता दिवसको रुपमा मनाउने घोषणा गरेसँग विश्व साक्षरता दिवस मनाउन थालिएको हो ।

राष्ट्रिय साक्षरता अभियानको एक दशक बितिसक्दा सामान्य लेखपढसम्म गर्न नसक्नेको संख्या अझैपनि ३ लाख हाराहारीमा छ । शिक्षा मन्त्रालयको तथ्याङकमा ३० जिल्लाका ३ लाख सर्वसाधारण अझै साधारण लेखपढसम्म गर्न नसक्ने उल्लेख छ ।

१५ देखि ५९ वर्ष उमेर समूहका निरक्षरलाई पढ्न र लेख्न सक्ने बनाउने उद्देश्यले २०६५ सालमा राष्ट्रिय साक्षरता अभियान सुरु भएको थियो । अहिलेसम्म ४७ जिल्ला मात्र साक्षर घोषित भएका छन् । सरकारले साक्षरता अभियानका लागि ७ अर्बभन्दा बढी रकम खर्च गरिसकेको छ ।

२०६७ सालमा पुनस् सर्वेक्षण गर्दा ५१ लाख ७३ हजार ९ सय ७९ जना निरक्षर भेटिएका थिए । पछिल्लो सरकारी तथ्याङ्कमा निरक्षरको संख्यामा उल्लेख्य कमी आएको देखिएको छ तर पनि साक्षर भनी घोषणा गरिएका जिल्लामा पनि नमुना सर्भेका भरमा आएका रिर्पोटका आधारमा मात्रै घोषणा गरिएको शिक्षाविदहरुको भनाई छ ।

शिक्षाविद् विद्यानाथ कोइराला मन्त्रालयको यो तथ्यांकमा पनि विश्वास गर्ने आधार नरहेको बताउछन् । औपचारिक शिक्षा लिन छुटेकालाई साक्षर बनाउन सरकारले वर्षौंदेखि गाउाटोलमा प्रौढ कक्षा चलाए पनि उद्देश्य पूरा हुन सकेको छैन ।

अर्कोतर्फ ६० हजार बालबालिका विद्यालयबाहिर रहेको सरकारी तथ्यांक छ । यसैबीच ५१ औं साक्षरता दिवस आज नेपालसहित विश्वभर विविध कार्यक्रम गरी साक्षरता दिवस मनाइँदैछ । दिवशका अवसरमा गत आइतबारदेखि नै साताव्यापी कार्यक्रम सुरु गरिएको थियो ।

सन १९६५ मा यूनेस्कोले हरेक वर्षको सेप्टेम्बर ८ लाई विश्व साक्षरता दिवसको रुपमा मनाउने घोषणा गरेको थियो । यसपटकको विश्व साक्षरता दिवसका लागि विश्व साक्षरता संस्थाले ‘एउटा डिजीटल संसारमा साक्षरताको महत्व’ भन्ने नारा तय गरिएको छ ।

विश्वभरिका विद्यालय, समूदाय र संस्थाहरुले साक्षरताका लागि जनजागरण फैलाउन यो दिवस विभिन्न तरिकाले स्वस्फूर्त रुपमा मनाउने गर्दछन् ।

प्रतिक्रिया दिनुहोस्