उर्जामन्त्री पुन भ्रमण : माथिल्लो कर्णालीको बिजुली बङ्गलादेशले किन्ने निर्णय

काठमाडौं,२३ भदौ।  नौ सय मेगावाटको माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको विद्युत बङ्गलादेशले किन्ने भएको छ । बङ्गलादेशको मन्त्रिपरिषद्ले भारतीय कम्पनी ग्रान्ध्री माल्लिकार्जुन राव (जिएमआर) प्रवद्र्धक रहेको माथिल्लो कर्णालीको ५०० मेगावाट विद्युत् किन्ने निर्णय केही दिन अघि गरेको हो ।
बङ्गलादेशको भ्रमणमा रहनुभएका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनलाई यहाँको विद्युत्, ऊर्जा तथा खनिज राज्यमन्त्री नसरुल हमिदले उक्त आयोजनाको विद्युत् खरिद गर्ने निर्णय मन्त्रिपरिषद्ले गरिसकेको जानकारी गराएका हुन ।
शुक्रबार ढाकास्थित नेपाली दूतावासले गरेको कार्यक्रममा मन्त्री पुनले भने, “विद्युत् खरिद गर्ने निर्णय भइसकेको र अहिले दुई पक्षबीच खरिद दरलगायत अन्य प्राविधिक पक्षमा छलफल भइरहेको यहाँका मन्त्रीले जानकारी दिनुभएको छ ।”
जिएमआरले आयोजनाको विद्युत् भारतीय कम्पनी एनटिपिसी विद्युत् निगमलाई बिक्री गर्ने र उसले बङ्गलादेशमा बिक्री गर्न लागेको बताइएको छ । जिएमआरले माथिल्लो कर्णालीको विद्युत् बिक्रीका लागि बजार सुनिश्चित गर्न नसक्दा अहिलेसरम्म वित्तीय व्यवस्थापन गर्न सकिरहेको छैन ।
लगानी बोर्डले मााथिल्लो कर्णाली जलविद्युत् आयाजनको वित्तीय व्यवस्थापनका लागि दोस्रोपल्ट थपेको म्याद आगामी असोज २ गते सकिँदैछ । लगानी बोर्ड र जिएमआरबीच ३ असोज ०७१ मा भएको आयोजना विकास सम्झौता (पिडिए) अनुसार माथिल्लो कर्णालीका वित्तीय व्यवस्थापन दुई वर्ष्भित्र अर्थात् ३ असोज ०७३ मा गर्ने व्यवस्था थियो ।
तोकिएको समयमा लगानी जुटाउन नसकेपछि बोर्डले आयोजनाको म्याद थप्दै आएको छ । आयोजनाको अनुमानित लागत रु एक खर्ब ५० अर्ब (एक अर्ब ५० करोड अमेरिकी डलर) छ ।
माथिल्लो कर्णालीबाट नेपालले १०८ मेगावाट (१२ प्रतिशत) ऊर्जा तथा २७ प्रतिशत स्वपूँजी (इक्विटी) प्राप्त गर्नेछ । वर्षभरिमा तीन महिना मात्र पूरा क्षमतामा चल्ने गरी नमूना तयार गरिएको उक्त आयोजना ‘निर्माण, स्वामित्वग्रहण, सञ्चालन र हस्तान्तरण (बुट) मोडलमा बन्न लागेको हो । आयोजना ३० वर्षपछि सरकारलाई चालू अवस्थामै हस्तान्तरण गरिने बताइएको छ ।
ऊर्जा मन्त्री पुनले बङ्गलादेशले सन् २०४० सम्ममा नेपालबाट नौ हजार मेगावाट विद्युत् खरिद गर्ने योजना बनाएको उल्लेख गर्दै दूधकोशी र माथिल्लो अरुणको करीब एक हजार ५०० मेगावाट विद्युत् खरिद गर्नका लागि दुई मुलुकबीच छलफल भइरहेकोे बताउनुहुन्छ । “सुनकोशी दोस्रो र तेस्रो जलविद्युत् आयोजना संयुक्तरुपमा निर्माण गर्ने विषयमा छलफल भइरहेको छ”, उहाँको भनाइ छ, “यसलाई पनि छिटै निष्कर्षमा पुर्‍याउने छौँ ।” मन्त्री पुनले बङ्गलादेश सरकार तथा व्यवसायीलाई नेपालमा राजनीतिक स्थायित्व कायम भएकाले जलविद्युत् क्षेत्रमा लगानी गर्न पनि आग्रह गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्