गैरकानुनी आप्रवासीले यसरी गर्दैछन् नेपालमा योजनाबद्ध घुसपैठ
काठमाडौं,२३ भदौ। भारतको बाटो हुँदै बर्माका अल्पसंख्यक रोहिन्जा र अन्य देशका गैरआप्रवासी घुसपैठ गराउने गिरोह योजनाबद्ध रूपमा सक्रिय हुँदै आएको छ। गिरोहले रोहिन्जा र बंगलादेशीलाई आकर्षित गरी मोटो रकम लिएर नेपालमा घुसपैठ गराइरहेको छ।
गिरोहका नाइकेका रूपमा नेपाली महिला विवाह गरेका अफगान नागरिक सक्रिय रहेको पाइएको छ। यसरी अवैध रूपमा काठमाडौं आइपुगेका बंगलादेशी र रोहिन्जाहरू बूढानीलकण्ठ–११ को कपन क्षेत्रमा टहरा बनाएर बसोबास गर्दै आएका छन्। निरन्तर रूपमा गैरकानुनी आप्रवासी भित्र्याएपछि कपनका बासिन्दाले ती अफगानीलाई लखेटेका थिए। आप्रवासी र स्थानीय बासिन्दाबीच गत वर्ष झडपको स्थिति उत्पन्न भएको थियो।
घटनाबारे सुरक्षा निकायमा खबर गर्दा बेवास्ता भएको थियो। रोहिन्जा बसोबास गर्दै आएको बूढानीलकण्ठ नगरपालिका ११ का वडाध्यक्ष राजु अधिकारीले भने, ‘नेपाली महिला विवाह गरेका अफगान नागरिक गैरकानुनी आप्रवासी भिœयाउन सक्रिय रहेछन्। स्थानीयको प्रतिकारपछि उनी देखा परेका छैनन्। तथापि, रणनीति परिवर्तन गरेर त्यस्ता गिरोहको गतिविधि जारी छ।’
गैरकानुनी रूपमा ल्याउने र छाड्ने गतिविधि गरिरहँदा घुसपैठ हुने संख्या बढ्दै गएको छ। अफगान नागरिकले देशबाहिर समन्वय गरी ल्याउने र नेपाली महिलाले बासस्थान खोजेर राखिदिने गर्दै आएका छन्। जसका कारण काठमाडौं उपत्यकाको रिङरोड वरपरका क्षेत्रमा भाडामा बस्ने आप्रवासीको संख्या बढ्दै गएको छ। कपन, हात्तीगौंडा, बूढानीलकण्ठ, महाराजगन्ज, बानियाँटारलगायतका क्षेत्रमा गैरकानुनी आप्रवासीहरू कोठा भाडामा लिएर बस्दै आएका छन्।
बेलाबेलामा आप्रवासी भिœयाउने गिरोहका सदस्य बस्तीमा आउनु र आप्रवासीको संख्या बढ्नुले गतिविधिले निरन्तरता पाएको पुष्टि हुने अधिकारीको भनाइ छ। योजनाबद्ध रूपमा मानव तस्करको गिरोहले आप्रवासीलाई भिœयाइरहेको जानकारी सम्बन्धित स्थानीय तहका जनप्रतिनिधिले जानकारी गराउँदासमेत सुरक्षा निकायले आँखा चिम्लिए जस्तो गर्नु गम्भीर विषय हो।
कसरी भित्रिए रोहिन्जा र बंगलादेशी
अध्यागमनदेखि सीमा नाकामा खटिएका सुरक्षाको कमीकमजोरीको फाइदा उठाउँदै गैरकानुनी आप्रवासीको प्रवेशले निरन्तरता पाएको हो । कतिपय सीमा नाकामा केही पैसा पाएमा जाँच नगरी छाडिदिने सुरक्षाकर्मीको कमी छैन।
यसले पनि घुसपैठ गराउने गिरोहलाई सजिलो भएको छ। सुरक्षा सम्बद्ध जिम्मेवार निकायका अधिकारीहरू घुसपैठको योजनाबद्ध शैलीबारे जानकार छैनन्। गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदी रोहिन्जाको गैरकानुनी प्रवेशलाई विशेष परिस्थितिको उपज भन्छन्।
गैरकाननुी आप्रवासीले कानुनी मान्यता पाउने कुनै आधार नरहेको उनको भनाइ छ । तर, योजनाबद्ध तरिकाले घुसपैठ भएर आएकाहरूलाई शरणार्थीको दर्जा दिलाएर नेपालमा रहने अवस्था बनाउने गतिविधि भइरहेको छ।
विभिन्न स्थानमा छरिएर रहेका रोहिन्जा, बंगलादेशीलगायत गैरकानुनी आप्रवासीहरू शरणार्थीको मान्यता पाएमा एकीकृत हुने पर्खाइमा छन्। कानुनको छिद्र खोज्दै यस्तो प्रयास निरन्तर जारी छ। यो खबर आजको नागरिक दैनिकमा छ।
प्रतिक्रिया दिनुहोस्