नेपाल युएईसँग ७ विकेटले पराजित

काठमाडौं । आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको अन्तिम चरणको पहिलो खेलमा नेपाल युएईसँग पराजित भएको छ ।

बुधबार युएईको आबुधाबीस्थित शेख जायद रंगशालामा भएको खेलमा नेपाल ७ विकेटले पराजित भएको हो ।

२२२ रनको सामान्य चुनौती युएईले ४५ ओभर ५ बलमै ३ विकेटको क्षतिमा पूरा गर्‍यो ।

फितलो बलिङ गरेको नेपालका लागि शरद भेषावकर र सन्दीप लामिछानेले एकरएक विकेट लिए ।

युएईका लागि गुलाम सब्बेरले अविजित रहँदै ८१ तथा कप्तान रोहन मुस्तफाले ६२ रन बनाए ।

यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित् ५० ओभरमा ६ विकेट गुमाउँदै २२१ रन जोडेको थियो ।

शरद भेषावकरले ९५ बलमा अविजित रहँदै ८१ तथा उपकप्तान ज्ञानेन्द्र मल्लले ८३ बलमा ५४ रनको योगदान दिए ।

यसअघि नै च्याम्पियनसिपबाट दोस्रो डिभिजनमा झरिसकेका नेपाल र युएई दुवै टोलीका लागि यो खेल प्रतिष्ठाको लडाइँमात्रै बनेको छ । अन्तिम खेल शुक्रबार हुनेछ ।

नेपाल र युएईले दोस्रो डिभिजनमा झरेको अर्को टिम नामिबियासँगै उसको मैदानमा आगामी फेब्रुअरीमा हुने डिभिजन–२ प्रतियोगिता खेल्नेछन् । फाइनल पुग्ने टोलीले विश्वकप छनोट खेल्ने अवसर पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्