ढुक्क भएर मतदान गर्न निर्वाचन आयोगको आग्रह

काठमाडौं । निर्वाचन आयोगले भोलि हुने निर्वाचनको सबै तयारी पुरा भएकोले ढुक्क भएर मतदानमा सहभागी हुन मतदाताहरुलाई आग्रह गरेको छ । आयोगमा भएको विशेष पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले सुरक्षाको व्यवस्था मजबुत बनाएको भन्दै ढुक्क भएर मतदान स्थलमा गइ मतदान गर्न आग्रह गरेका हुन् ।

प्रमुख आयुक्त यादवले भयरहित वातावरणमा मतदान गर्न पाउने नागरिकको हक संरक्षण हुने गरी सुरक्षाको व्यवस्था मिलाएकाले ढुक्क भएर बिहान सात बजेदेखि मतदानमा सहभागी हुन आग्रह गरेका छन् । अपाङ्गता भएका, गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, अशक्त वा विरामी मतदातालाई प्राथमिकताका साथ मतदानको व्यवस्था मिलाउन पनि उनले मतदान अधिकृतहरुलाई निर्देशन दिएका छन् ।

भोली निर्वाचन हुने ४५ जिल्लामा १ लाख ५५ हजार कर्मचारी खटाइएको उनको भनाई छ । १ सय २८ प्रतिनिधिसभा सदस्य र २ सय ५६ प्रदेशसभा सदस्यका लागि भोली निर्वाचन हुन लागेको हो । सबै जिल्लाहरुमा मतपेटिका, मतपत्र र अन्य निर्वाचनका सामाग्री पुगिसकेको तथा मतदानपछि मतपत्र जिल्ला सदरमुकाम ल्याउने व्यवस्था समेत मिलाइसकिएको उनले जानकारी दिए ।

पहिलोको निर्वाचन शान्तिपुर्ण रुपमा सम्पन्न भएकाले दास्रो चरणको निर्वाचन पनि शान्तिपूर्ण हुने यादवको विश्वास छ ।

यस्तै, प्रधानमन्त्री शेरबहादुर देउवाले पनि सरकारले निर्वाचनमा सुरक्षाको पूर्ण प्रबन्ध मिलाएकाले ढुक्क भएर मतदानमा सहभागी हुन मतदातालाई आह्वान गरेका छन् । प्रधानमन्त्री देउवाले आज विज्ञप्ति जारी गरी लोकतन्त्रको यो सबैभन्दा ठूलो उत्सवलाई शान्तिपूर्ण, विवेकपूर्ण र उत्साहजनक रुपमा सम्पन्न गर्न आह्वान गरेका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्