काठमाडौं, भाद्र २० । महोत्तरीको सम्सी गाउँपालिकाका स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिएका छन ।
गाउँपालिकाले गत वैशाखदेखिको तलब, भत्ता र अन्य सुविधा नदिएको विरोधमा स्वाथ्यकर्मीले गाउँपालिकामा मङ्गलबारदेखि तालाबन्दी गरेका हुन ।
पटक–पटक गाउँपालिका, स्वास्थ्यकर्मी तथा जिल्ला प्रशासन कार्यालयबीच तलब, भत्ता र अन्य सुविधा उपलब्ध गराउने सम्झौता हुँदै आएको थियो ।
गाउँपालिकाले उक्त सम्झौता कार्यान्वयन नगरेपछि स्वास्थ्यकर्मीले आन्दोलन थालेका हुन् । स्वास्थ्यकर्मीले आ–आफ्ना स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सबै सेवा बन्द गरेको आन्दोलन समितिका संयोजक राघवेन्द्रप्रसाद यादवले बताए ।
गाउँपालिका र स्वास्थ्यर्मीबीच यसअघि २०७५ असार २८, साउन ५, साउन ७ र साउन २५ गते तलब, भत्तालगायत सुविधा उपलब्ध गराउने सहमति भएको थियो ।
स्वास्थ्यकर्मीले यही भदौ १ गतेदेखि आन्दोलनमा उत्रने चेतावनी दिएपछि गाउँपालिकाले यही भदौ १५ गते भित्रमा तलब, भत्तालगायत सुविधा उपलब्ध गराउने सहमति गरेको थियो ।
उक्त सहमति कार्यान्वयन नभएपछि उनीहरुले गाउँपालिकामा तालाबन्दीसँगै धर्ना दिँदै आएका छन ।
प्रतिक्रिया दिनुहोस्