काठमाडौं, भाद्र २० । गैरआवासीय नेपाली संघ (एनआरएनए) को कार्यक्रममा दुबई आएका श्रम मन्त्रालयका उपसचिव विपीन आचार्यलाई नेपाली महिलाले घेरे। र, सोधे, ‘लौ भन्नुहोस्, हामीलाई कुन कानुन प्रयोग गरेर घर फर्किनबाट रोक्नुभयो ?’
आचार्य अलमल्ल परे । उनीहरूले प्र्रश्न बर्साइरहे, ‘के हामीलाई सरकारले देशमै ५०–६० हजारको जागिर दिन सक्छ? सक्दैन भने किन हाम्रो मुख थुन्छ? किन बाटो छेक्छ ? किन खुसी लुट्छ ?’ उनीहरू रहेछन्– दुबईमा कार्यरत नेपाली घरेलु कामदार । सरकारले डेढ वर्षदेखि महिला घरेलु कामदारको श्रम स्वीकृति रोकेको छ । पहिल्यैदेखि आएर काम गरिरहेकालाई पनि पुनः श्रम स्वीकृति दिँदैन।
उक्त नियमका कारण खाडीमा कार्यरत ५० हजारभन्दा बढी महिला बिदामा घर फर्कन पाएका छैनन् । जानेलाई फर्किएर आउन रोकिन्छ। गुल्मी तम्घासकी सम्झना पन्थीले आमा बिरामी हुँदा पनि भेट्न जान पाइनन् । ‘आमालाई नेपालमा आईसीयूमा राखिएको थियो । भाइ–बहिनी सानै छन् । स्याहार गर्ने कोही छैन’, उनले भनिन्, ‘जन्म दिने आमालाई त्यस अवस्थामा भेट्न जान मैले पाइनँ । गएपछि सरकारले आउन दिँदैन । उतै बसौं यस्तो राम्रो जागिर छाड्नुपर्छ।’
उनी यस्तो घरमा काम गर्छिन्, जहाँ उनले छोरीसरह सम्मान पाउँछिन् । ‘मलाई कुनै दुःख चिन्ता छैन । आमालाई भेट्नसम्म घर जान नपाएकामा मेरो म्याडम स्वयम् चिन्तित हुनुहुन्छ’, उनले गुनासो राखिन्, ‘मैले कुनै अपराध गरेको छैन । विदेश आएर जागिर खान किन नपाउनु ?’ नवलपरासी दुम्कीबासकी लक्ष्मी पौडेल केही महिनाअघि घर गइन् । उनको पुरानो श्रम स्वीकृति थियो । त्रिभुवन विमानस्थलमा अध्यागमन अधिकारीहरूले रोक्दै भने, ‘तपाईं जान पाउनुहुन्न।’
‘किन? ’ उनी कड्किइन् । ‘सरकारले घरेलु कामदारलाई फर्किएर जान रोकेको छ’, उताबाट उत्तर आयो। सरकारले घरेलु महिला कामदारलाई भारतका विमानस्थलहरूबाट पनि रोकिदिन पत्राचार गरेको छ । त्यसैले उनीहरू नक्कली भिजिट भिसा बनाई दलालको सहयोगमा आउन बाध्य छन् । भारतीय बाटो हुँदै घरेलु कामदारको मानव तस्करी भइरहेको छ। संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले रोक्न भनेपछि २०७३ चैत २० गते सरकारले घरेलु कामदारमा रोक लगाएको हो ।
समितिका तत्कालीन सभापति प्रभु शाहले त्यसअघि खाडीका विभिन्न मुलुकको भ्रमण गरेका थिए। ‘त्यहाँबाट आएको सुझाव’ भन्दै उनले त्यस्तो निर्देशन दिएका थिए । त्यसमा मुख्य कारण महिला ‘असुरक्षित हुने’ देखाइएको थियो। यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा अखण्ड भण्डारीले लेखेका छन्।
प्रतिक्रिया दिनुहोस्