काठमाडौं, भाद्र २० । बलात्कारीलाई जोगाएको आरोपमा कारबाहीमा परेका नेपाल प्रहरीका एसपी विद्यानन्द माझीले मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट विभूषण पाएका छन् ।
उनले प्रबल जनसेवाश्री विभूषण पाएका हुन् । जिल्ला प्रहरी कार्यालय सुनसरीको प्रहरी प्रमुखका रूपमा कार्यरत रहँदा आर्थिक चलखेलका आधारमा बलात्कार गर्ने समूहसँग मिलेर उनले पीडितलाई मिलापत्र गर्न दबाब दिएका थिए ।
गृह मन्त्रालयले निलम्बन गरी उनलाई विभागीय कारबाही गरेको थियो । उनै माझीले राष्ट्रलाई महत्वपूर्ण योगदान दिएको भन्दै राष्ट्रपतिको हातबाट विभूषण ग्रहण गरेका छन् । अघिल्लो वर्ष नै उनलाई विभूषण दिने निर्णय भएकाले आफूहरूले हटाउन नसकेको गृहका एक अधिकारी बताउँछन् ।
तर, आइतबारको मन्त्रिपरिषद्को बैठकले पूर्वमुख्यसचिव सोमलाल सुवेदी र गोपीकृष्ण शर्माको नाम हटाउँदा उनको नाम भने हटेन । निलम्बन फुकुवा भएपछि एसपी माझीलाई गृह मन्त्रालयले डोटी जिल्लाको प्रहरी प्रमुखका रूपमा खटाएको छ।
३४३ मध्ये १६६ विभूषण सुरक्षाकर्मीलाई
राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार विभूषण प्रदान गर्दा शीतलनिवासमा सुरक्षा अधिकारीहरूको ठूलो भिड थियो ।
सुरक्षाका लागि उनीहरू त्यहाँ पुगेका थिएनन्, विभूषण ग्रहण गर्न गएका थिए । देशलाई योगदान दिएबापत राज्यले दिएको सम्मान अर्थात् विभूषणमध्ये आधाजसो सुरक्षा अधिकारीले हात पारेका छन् ।
सरकारले गत वर्ष ३ सय ४५ जनालाई विभूषण दिने निर्णय गरेको थियो । त्यसमा २ जनाको नाम हटाएर सरकारले ३ सय ४३ लाई विभूषण दिएको छ । जसमध्ये १ सय ६६ जना सुरक्षा अधिकारी छन् ।
यो वर्ष मात्र होइन, हरेक वर्षजसो सरकारले प्रदान गर्ने विभूषणमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभागका अधिकारीहरूको भागमा आधाजसो सम्मान मिल्ने गरेको छ ।
सुरक्षा अधिकारीमा किन हुन्छ विभूषणको मोह?
सुरक्षा अधिकारीहरूमा विभूषणको मोह धेरै हुनुमा मुख्य दुई कारण छन् । पहिलो– विभूषणले उनीहरूको बढुवामा अर्थ राख्छ ।
नेपाल प्रहरीको बढुवामा सरकारले दिने विभूषणबापत २ नम्बर राखिएको छ । अन्य सुरक्षा निकायमा विभूषणलाई नम्बरको आधार बनाइने भएकाले उनीहरूले बढी नै लबिङ गर्छन् ।
दोस्रो– राज्यको उच्च तहमा अरूको भन्दा धेरै पहुँच हुने भएकाले उनीहरूले धेरै पाउने गरेका हुन् ।–नागरिक दैनिकबाट
प्रतिक्रिया दिनुहोस्