एक हप्ताभित्र मुलुकी अपराध (संहिता) ऐन संशोधन गर्न सरकारलाई चिकित्सक संघको अल्टिमेटम

ठमाडौं ।  नेपाल चिकित्सक संघले एक हप्ता भित्र मुलुकी अपराध (संहिता) ऐन, २०७५ संशोधन प्रक्रिया अघि बढाउन सरकारलाई अल्टिमेटम दिएको छ ।
संघका अध्यक्ष मुक्तिराम श्रेष्ठले सोमबार आफूहरुसँग भएको सहमति अनुसार एक हप्ता भित्र मुलुकी अपराध (संहिता) ऐन, २०७५ संशोधन प्रक्रिया अघि बढाउन सरकारलाई अल्टिमेटम दिनु भएको हो ।
उहाँले आगामी सोमबार भित्र त्यो ऐनको संशोधन प्रक्रिया अघि नबढाए सरकारविरुद्ध कडा आन्दोलनमा जान बाध्य हुने पनि स्पष्ट पार्नुभयो । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी अध्यक्ष श्रेष्ठले आगामी सोमबारसम्म संघीय संसदमा मुलुकी अपराध ऐन संशोधन प्रस्ताव दर्ता नभए मंगलबारबाट पुनः आकस्मिकबाहेकका अस्पतालका सबै सेवा ठप्प पार्ने चेतावनी पनि दिनु यो । उहाँले त्यो ऐन संशोधन नभएसम्म चिकित्सकहरुले ज्यानमाराको मुद्दा भोग्नुपर्ने अवस्था रहिरहने दावी पनि गर्नुभयो ।
संघले चिकित्सकको लापरबाहीको कारणले बिरामीको ज्यान गए, नगएको अनुसन्धान गर्न समयसीमासहितको कानुनी व्यवस्था गर्न पनि सरकारसँग माग गर्दै आएको छ । अध्यक्ष श्रेष्ठले समय तोकेरै चिकित्सकको लापर्वाहीका कारण बिरामीको ज्यान गए, नगएको पुष्टि गर्न अनुसन्धानको व्यवस्था पनि कानुनमा गर्न सरकारलाई दबाब दिनु परेको स्पष्ट पार्नुभयो ।
बिरामीको मृत्यु हुने वित्तिकै चिकित्सकहरुलाई ज्यान जोगाउन गाह्रो हुनेगरी मुलुकी अपराध ऐन भदौ १ गतेबाट लागू गरेको भन्दै चिकित्सकहरुले सरकारको चर्को आलोचना गर्दै आएका छन ।
प्रतिक्रिया दिनुहोस्