मतदाता परिचय पत्र नभएकाले पनि सरकारी परिचयपत्र देखाई मतदान गर्न पाउने

काठमाडौं । तपाई यदि मतदाता परिचय पत्र नभएर मतदान गर्नबाट बञ्चित हुन्छु कि भनी चिन्ता लिनु भएको छ, भने तपाईको कुनै पनि सरकारी निकायबाट जारी भएको मतदाताको परिचय खुल्ने कागजपत्र देखाएर मतदान गर्न सकिने व्यवस्था गरिएको छ ।
निर्वाचन आयोगले कुनै पनि नागरकि मतदान अधिकारबाट बञ्चित नहोस् भनि बिहीबार हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा नागरिकतालगायत तस्वीर टाँस भएका सरकारी निकायबाट जारी भएको मतदाताको परिचय खुल्ने कागजपत्र देखाएर मतदान गर्न सकिने व्यवस्था गरिएको हो ।

निर्वाचनमा मतदान गर्न पाउने मतदाताको मताधिकारको सम्मान गर्दै निर्वाचन आयोगले मतदाता नामावलीमा नाम भएका तर मतदाता परिचयपत्र प्राप्त गर्न नसकेका मतदाताले समेत मतदान गर्न उक्त व्यवस्था गरिएको आयोगका प्रवक्ता नवराज ढकालले जागरण न्युजलाई जानकारी दिए ।

आयोगका अनुसार कुनै मतदाताले प्राप्त परिचयपत्र हराएमा वा नष्ट भएका मतदाताले मतदानका लागि नेपाली नागरिकताको प्रमाणपत्र वा २०७० सालमा आयोगबाट जारी गरिएको मतदाता परिचयपत्र वा राहदानी वा सवारी चालक अनुमतिपत्र वा जग्गाधनी प्रमाणपत्र वा सरकारी निकायबाट तस्वीरसहित जारी भएका परिचयपत्र समेतका आधारमा मतदान गर्न सक्नेछन् ।

यसअघि स्थानीय तहको निर्वाचनमा मतदाता परिचयपत्र पाउनुभएका मतदाताले सोही मतदाता परिचयपत्रका आधारमा तथा मतदाता नामावलीमा नाम थप भई यही मंसिर १९ र २० गते सम्बन्धित मतदान केन्द्रबाट मतदाता परिचयपत्र पाउनुभएका मतदाताले सोही मतदाता परिचयपत्रबाट मतदान गर्न पाउने आयोगले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्