बिम्स्टेक घोषणापत्र कार्यान्वयन गर्न प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा जारी गरिएको बहुक्षेत्रीय, प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो सम्मेलनले पारित गरेका १८ बुँदे घोषणापत्र कार्यान्वयन गर्न कर्मचारीलाई निर्देशन दिएका छन ।

काठमाडौँमा यही भदौ १४ र १५ गते चलेको शिखर सम्मेलनमा जारी घोषणापत्र कार्यान्वयन गर्न सम्बद्ध पदाधिकारीलाई उनले निर्देशन दिएका हुन ।

सम्मेलनबाट जारी घोषणापत्रमा गरीबी निवारण, यातायात र सूचना प्रविधिको सम्पर्क र सञ्जाल विस्तार, वातावरण, ऊर्जा, प्रविधि र प्राकृतिक प्रकोपको व्यवस्थापन, मत्स्य र कृषिपालन, जनस्वास्थ्य, सांस्कृतिक समन्वय, पर्यटन, हिमाल र समुद्र नथा नदीनालाको अर्थतन्त्र (माउन्टेन एण्ड ब्लु एकोनोमी) आदि उल्लेख गरिएको छ ।

बिम्स्टेक सम्मेलन समापनपछि पहिलो पटक प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा आयोजित समीक्षा गोष्ठीमा प्रधानमन्त्री ओलीले बिम्स्टेक र सार्क राष्ट्रका गतिविधि समान रुपमा र सक्रियतापूर्वक अगाडि बढ्ने जानकारी दिनुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले राससलाई जानकारी दिए ।

गोष्ठीमा प्रधानमन्त्री ओलीले अन्तर्राष्ट्रियस्तरको सम्मेलनस्थल प्रयोग गर्न नसकिएको र पर्याप्त बुलेटप्रुफ गाडीसमेत नभएको स्थितिमा सम्मेलन सफलतापूर्वक सम्पन्न गर्न सर्वसाधारण, सुरक्षा निकाय, राष्ट्रसेवक कर्मचारी एवं सञ्चारकर्मीले पु¥याएको योगदानप्रति धन्यवाद व्यक्त गर्नुभएको प्रधानमन्त्री कार्यालयका प्रवक्ता विनोदबहादुर कुँवरले राससलाई बताए ।

समीक्षा कार्यक्रममा विभिन्न मन्त्रालयका मन्त्री, सुरक्षा निकाय र सरकारका उच्चपदस्थ अधिकारीको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्