गौरा पर्व: देउवा र दाहालले दिए यस्तो शुभकामना

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गौरा पर्वको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् ।

उनले एक विज्ञप्तिमार्फत विविधताले भरिएको हाम्रो समाजमा गर्व गर्न लायक धार्मिक, सांस्कृतिक रीतिरिवाज र परम्परा रहेको र त्यसमध्ये गौरा पर्वले जनजीवनमा गहिरो छाप र विशिष्ट पहिचान बनाएको उल्लेख गरेका छन् ।

विशेषगरी सुदूरपश्चिममा मनाइने यस्ता पर्व सामाजिक सद्भावना बढाउने काममा कोशेढुङ्गा सावित भएको उल्लेख गर्दै सभापति देउवाले यो पर्वले सबैको घरपरिवारमा सुख, शान्ति र समृद्धिको वातावरण सिर्जना गर्दै सामाजिक सद्भाव अभिवृद्धि गर्न प्रेरित गर्न सकोस् भनी शुभकामना दिएका छन् ।

यस्तै नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पनि प्रदेश नम्बर ७ तथा कर्णाली लगायतका कतिपय जिल्लामा ऐतिहासिक रुपमा मनाईंदै आएको चाड ‘गौरा पर्व’ का अवसरमा हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

‘चाडपर्वको महत्व सामान्य उत्सव मात्र नभएर त्यसले समुदाय र क्षेत्रको साझा ऐतिहासिक पहिचान र सामाजिक सम्बन्धको समेत परिचय दिन्छ । त्यसअर्थमा गौरा पर्वको महत्व प्रदेश र ७ का जनताका लागि ऐतिहासिक महत्वको रहेको छ । लामो संघर्षपछि यही पहिचान र सामथ्र्यलाई संविधानमार्फत सुनिश्चित गरी संघीय गणतान्त्रिक नयाँ नेपालको निर्माणमा हामी अघि बढेको बेला यो पर्वको महत्व झनै बढेको मैले अनुभूति गरेको छु,’ अध्यक्ष प्रचण्डको शुभकामना सन्देशमा उल्लेख छ ।

उनले संघीयतालाई बलियो पार्दै विकास र समृद्धिका दृष्टिले राज्यबाट ओझेलमा पारिँदै आएको प्रदेश नम्बर सातलाई समुन्नतिको दिशामा अघि बढाउन, त्यस क्षेत्रको प्राकृतिक तथा सांंस्कृतिक सम्पदाहरुको समुचित विकास गर्न तथा सम्पूर्ण देशवासीमा आपसी सदभाव, भाइचारा तथा अपनत्वको भावना बृद्धि गरी समृद्ध नेपालको निर्माणमा गौरा पर्वले प्रेरणा देओस भनी कामना गरेका छन् ।

‘म मेरो तर्फबाट, परिवार तथा पार्टीका तर्फबाट देश तथा विदेशमा गौरा पर्व मनाउन लाग्नु भएको सम्पूर्ण नेपालीमा हार्दिक शुभकामना व्यक्त गर्न चाहान्छु,’ उनले भनेका छन् ।

प्रदेश ७ मा गौरा पर्व उल्लासमय ढंगले मनाइदैछ ।

प्रतिक्रिया दिनुहोस्