दलीय भर्तीकेन्द्र बन्दै विश्वविद्यालयः यसरी सुरु भयो विश्वविद्यालयमा दलिय भर्ती

काठमाडाैं । विश्वविद्यालयहरु दलीय भर्तीकेन्द्र बन्दै गएका छन्। यसले विश्वविद्यालयको साख समेत गिराउँदै लगेको छ। तत्कालीन प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति सुशील कोइरालाले उपकुलपतिमा कांग्रेसकै कार्यकर्ता प्रा.डा. तीर्थ खनियाँलाई नियुक्त गरे। सरकारको यो कदममा तत्कालीन माओवादी र एमालेले पनि समर्थन गरे।

किनकि, उनीहरूले पनि रजिस्ट्रार र रेक्टर पाए । स्पष्ट भागबन्डा गरेर माओवादीले रेक्टरमा प्रा.डा. सुधा त्रिपाठी र एमालेले रजिस्ट्रारमा डिल्लीप्रसाद उप्रेतीलाई पठायो। थेसिस लेख्दा अरूको बौद्धिक सम्पत्ति चोरी गरेको आरोप लागेका खनियाँको विरोध भए पनि उनको पदलाई कसैले दख्खल पु¥याउन सकेन। यो खबर आजको नयाँ पत्रिका दैनिकमा रोहेज खतिवडाले लेखेका छन्।

तीन दलको भागबन्डामा विश्वविद्यालयको महत्वपूर्ण जिम्मेवारीमा पुगेका तीनजनाले अन्य धेरै विषयमा विवाद गरे पनि घट्टेकुलोमा सञ्चालन गर्ने भनिएको काठमाडौं नेसनल मेडिकल कलेजलाई सम्बन्धन दिन भने एकमत भएका थिए। कक्षाकोठा, उपकरण, प्राध्यापक, अस्पताल, डाक्टर, नर्स, फार्मेसी केही पनि नभएको भवनलाई मेडिकल कलेजको सम्बन्धन दिने उनीहरूलाई पदबाट तत्काल बर्खास्त गर्न र भविष्यमा सार्वजनिक पदमा नियुक्त नदिन गौरीबहादुर कार्की नेतृत्वको छानबिन समितिले सिफारिस गरेको छ।

पछिल्लोपटक २७ दिन अनशन बसेका डा. गोविन्द केसीसँगको सम्झौतामा उनीहरूलाई कारबाही गर्ने विषय उल्लेख छ । तर, एक महिनाभन्दा बढी हुँदा पनि सरकारले कारबाही प्रक्रिया सुरु गरेको छैन।

डिन, डाइरेक्टर र क्याम्पस प्रमुखमा समेत भागबन्डा

कांग्रेस, माओवादी र एमालेको कोटाबाट विश्वविद्यालय पुगेका उपकुलपति प्रा.डा. तीर्थ खनियाँ, रेक्टर प्रा.डा.सुधा त्रिपाठी, रजिस्ट्रार डिल्लीप्रसाद उप्रेतीले विभागीय प्रमुख, डिन, रिसर्च सेन्टरका डाइरेक्टर र क्याम्पस प्रमुखहरू पनि दलहरूबीच भागबन्डा लगाए ।

धेरैजसो ठाउँमा कांग्रेस, तत्कालीन एमाले र माओवादीबीच भागबन्डा भयो भने केही ठाउँमा मधेसकेन्द्रित दलले पनि भाग पाए । ६० क्याम्पसमध्ये कांग्रेस २३, एमाले २१ र माओवादी १६ क्याम्पसको प्रमुख पाए।

दलीयकरणले त्रिविको साखलाई पुरै धरापमा पारेको विज्ञहरुले बताएका छन् । पहिलो, यसले शिक्षक–प्राध्यापकलाई जागिर खाने बनायो । दललाई खुशी पारेपछि नियुक्तिदेखि बढुवासम्म पाइने हुँदा शिक्षक–प्राध्यापकका लागि प्राज्ञिक काम प्राथमिकतामा परेन । अनुसन्धानमा रुचि हराएर गयो । यसले प्राध्यापकको गरिमा नै हराएर गयो ।

प्रतिक्रिया दिनुहोस्