काठमाडौंका ६ स्थानमा सुरु भयो फ्री वाईफाई, कसरी चलाउने फ्री वाईफाई ?

काठमाडाैं ।  काठमाडौं महानगरपालिकाले पशुपतिनाथ मन्दिर परिसरसहित ६ स्थानमा फ्री वाईफाई सेवा सुरु गरेको छ । ईन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्ड लिंकसँग मिलेर महानगरले ६ स्थानमा फ्रि वाईफाई सेवा दिएको हो । फ्री वाईफाई सेवाको आइतबार महानगर प्रमुख विद्यासुन्दर शाक्यले उद्घाटन गर्नुभयो । महानगरलाई निःशुल्क वाईफाई क्षेत्र बनाउन परीक्षण भइरहेको उहाँले बताउनुभयाे ।

अब पशुपतिनाथ, बौद्ध, शंखपार्क, बालाजु बाइसधारा उद्यान, स्वयम्भु, बसन्तपुर हनुमानढोका दरबार क्षेत्रमा फ्री वाईफाईको उपभोग गर्न पाइनेछ । चहलपहल बढी हुने क्षेत्रमा एक्सेस प्वाइन्ट र ब्याण्डविथ धेरै दिइएको छ भने कम भिडभाड हुने क्षेत्रमा थोरै छ । पशुपतिनाथ मन्दिर आसपासमा २०० देखि ७०० प्रयोगकर्ताले एकैपटक फ्रि वाईफाईको मजा लिनसक्नेछन् । पशुपति क्षेत्रमा ११ एक्सेस प्वाइन्ट राखिएकाे छ । बौद्धमा ४ वटा एक्सेस प्वाइन्टबाट २५० देखि ५००, शंखपार्कमा २ वटा एक्सेस प्वाइन्टबाट ५० देखि २०० प्रयोगकर्ताले एकैपटक फ्रि वाईफाई चलाउन सक्नेछन् ।

बालाजुमा ७ एक्सेस प्वाइन्टबाट २०० देखि ७००, स्वयम्भूमा ५ वटा एक्सेस प्वाइन्टबाट २०० देखि ३०० र बसन्तपुर हनुमानढोका दरबार क्षेत्रमा ९ वटा एक्सेस प्वाइन्टबाट ३०० देखि ५०० प्रयोगकर्ताले फ्रि वाईफाईको उपभोग गर्न सक्नेछन् । सबै क्षेत्रमा १० एमबिपिएस स्पिड दिइएको छ । महानगरपालिकाले सार्वजनिक उत्तरदायित्व अन्तर्गत विज्ञापनरहित हुने गरी वल्र्ड लिंकसँग ०७४ चैत्र १८ गते काठमाडौंका विभिन्न महत्वपूर्ण सार्वजनिक तथा धार्मिक स्थलमा फ्री वाईफाई जडानका लागि सम्झौता गरेको थियो । ६० दिनभित्रै फ्री वाईफाई सेवा जडान गर्ने भनिएपनि केही ढिला गरी थालिएको हो । महानगरका अनुसार वल्र्ड लिंकसँग ५ वर्षे सम्झौता गरिएको छ ।

कसरी चलाउने फ्री वाईफाई

सेवा जडान भएका क्षेत्रमा स्मार्ट फोन प्रयोगकर्ता पुगेपछि सिस्टमले नेटवर्क भएको नोटिफिसन पठाउँछ । यसमा थिचेपछि एउटा पेज खुल्छ । पेजमा नाम र मोवाइल नम्बर भर्नुपर्छ । वल्र्ड लिंकका कार्यकारी निर्देशक विजय जलानकाअनुसार यसरी विवरण भरिसकेपछि सिस्टमले मोवाइलमा एउटा कोड पठाउँछ । त्यो कोड भरिसकेपछि वाईफाई चलाउन सकिन्छ ।

सेवामा सवैको पहुँच पुगोस् र दुरुपयोग नहोस् भन्नका लागि प्रयोगकर्तालाई एक पटकमा ३० मिनेट समय दिइनेछ । ३० मिनेट पुगेपछि सिस्टमले उसलाई त्यसदिनका लागि कनेक्सन हुनबाट रोक्नेछ । तर, उसका लागि अर्को एक्सेस प्वाइन्ट भने खुल्ला नै रहनेछ ।

प्रतिक्रिया दिनुहोस्