‘चौथो विमस्टेक सम्मेलन सफलतापूर्वक सम्पन्न’ : परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौँ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले विमस्टेक सम्मेलन सफलतापूर्वक सम्पन्न भएको जानकारी दिएका छन् । विमस्टेक सम्मेलनको समापनपछि आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री ज्ञावलीले संविधान पारित भएपछि तथा वर्तमान सरकारको गठन पछाडिको यो पहिलो महत्वपूर्ण अन्तर्राष्ट्रिय कार्यक्रमको लागि प्रयाप्त समय नभएको भए पनि नेपालको सबै तप्काबाट प्राप्त सहयोगले यो सफलतापूर्वक सम्पन्न गर्न सकेको बताए ।

सम्मेलनले १९९७ को ब्याङ्कक घोषणापत्रमा उल्लेखित विमस्टेकको सिद्धान्त तथा उदेश्यप्रति आफ्नो प्रतिबद्धता पुनः जाहेर गरेको पत्रकार भेटघाटमा मन्त्री ज्ञवालीले बताए ।  ज्ञवालीले यस सम्मेलनको मुख्य नारा ‘शान्तीपूर्ण, सम्बृद्ध तथा दिगो बङ्गालको खाडी क्षेत्र’ रहेको जानकारी दिए । सम्मेलनले विभिन्न शिर्षकमा आफ्ना आगामी कार्यक्रमहरु अगाडि बढाएको कुरा पनि उल्लेख गदै पत्रकार सम्मेलनमा उनले तिनको विवरण प्रस्तुत गरे ।  जोड दिइएको विषयहरुमा संरचनागत सुधार, गरिबी निवारण, कनेक्टिभिटि, व्यापार तथा लगानी, प्रतिआतंकवादी तथा अन्तरदेशीय अपराध, वातावरण तथा प्रकोप व्यवस्थापन, जलवायु परिवर्तन, उर्जा, प्रविधि, कृषि, माछापालन, जनस्वास्थ, जनता–जनताबीच सम्पर्क, सास्कृतिक सहकार्य, पर्यटन, पहाडि अर्थतन्त्र तथा ब्लू इकोनोमी रहेका छन् ।

यसका साथै सम्मेलनले दीगो विकासको लागि एजेण्डा २०३० को कार्यन्वयनका लागि मिलेर काम गर्ने प्रतिवद्धता गरेको पनि मन्त्री ज्ञावलीले जानकारी दिए ।  ज्ञवालीले सम्मेलनले अति कम विकसित राष्ट्र तथा भूपरिवेष्ठित राष्ट्रको विशेष अवस्थालाई स्वीकारेको पनि जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्