चार दिनभित्र प्रत्यक्षतर्फको मतपरिणाम सार्वजनिक गर्ने आयोगको दाबी

काठमाडौं। निर्वाचन आयोगले प्रत्यक्षतर्फको अन्तिम मतपरिणाम चार दिनभित्र सार्वजनिक गरिसक्ने दाबी गरेको छ ।
आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फको सबै ठाउँको अन्तिम परिणाम चार दिनभित्र आइसक्ने गरी व्यवस्था मिलाइएको दाबी गरेको हो । निर्वाचन आयुक्त इश्वरीप्रसाद पौड्यालले समानुपातिकतर्फको अन्तिम परिणाम ८ दिनभित्र सार्वजनिक गर्ने पनि जानकारी दिए ।
सकेसम्म एकैसाथ तीनवटै मतपत्रको गणना गर्ने गरि व्यवस्था गरिएको तर त्यसो हुन नसके सुरुमा प्रत्यक्षको गणना सक्ने र त्यसपछि समानुपातिकतर्फको गणना सुरु गरिने उनले बताए । मतपत्र सानो र छरितो भएकाले चार दिनमा प्रत्यक्षतर्फको गणना सकिने उनको भनाई छ । मतगणनामा शिक्षक बाहेकका सरकारी कर्मचारीलाई खटाइने र त्यसका लागि आवश्यक सवै कर्मचारीको तयारी तालिम र व्यवस्थापन भइसकेको उनले बताए । मंसिर १० गते चुनाव भएका ठाउँको गणना २१ गते बेलुका ५ बजे लगत्तै सुरु हुनेछ ।

गणनाका बेला मतपत्र कर्मचारीबाहेक कसैले छुन नपाउने

मतगणनाका बेला खटिएका कर्मचारीबाहेक दलका प्रतिनिधिले मतपत्र छुन नसक्ने गरी व्यवस्था मिलाइएको निर्वाचन आयोगले जनाएको छ । विगतमा मतपत्र नष्ट गर्ने गरेको पाइएकाले आयोगले यसपटक मतगणनास्थलमा कर्मचारी र दलका प्रतिनिधिबीच निश्चित दूरी बनाउन तारबार लगाउने वा टेबुललगायत सामान राखेर दलका प्रतिनिधिले मतपत्र छुन नसक्ने व्यवस्था गरिएको आयुक्त पौड्यालले जानकारी दिए ।
आवश्यकता अनुसार मतगणनास्थलमा सिसिटीभीको ब्यवस्था गरिएको पनि आयोगले जनाएको छ । मतगणनाका क्रममा मतान्तर बढ्दै जाँदा गणना नै रोकिने हो कि भन्ने आशंका रह ेपनि सकेसम्म समन्वय गरेर अघि बढ्ने र गणनामा सबै दलका प्रतिनिधि नभए पनि आयोगले गणना अघि बढाउन सक्ने पनि आयुक्त पौडेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्