नयाँ मुलुकी संहिता लागू भएसँगै सम्बन्ध विच्छेदका मुद्दा ह्वात्तै बढ्यो

काठमाडौं। १२ भाद्र । नयाँ मुलुकी संहिता लागू भएसँगै सम्बन्ध विच्छेदका मुद्दा ह्वात्तै बढेको छ ।
सम्बन्ध बिच्छेदका लागि महिला सोझै अदालत जान सक्ने व्यवस्था भएपनि पुरुष भने अदालत गएर मुद्दा दर्ता गर्ने कानूनी व्यवस्था थिएन । यही भदौ १ गतेदेखि लागू भएको नयाँ मुलुकी संहिताले सम्बन्ध बिच्छेदका लागि पुरुषलाई पनि सोझै अदालत जाने बाटो खुला भएपछि सम्बन्ध विच्छेदका मुद्दा ह्वात्तै बढेर गएको हो ।

अहिले विभिन्न जिल्ला अदालतहरुमा सम्बन्ध विच्छेदका मुद्दा अत्याधिक रुपमा आउने गरेको छ । यस्तै घोराहीमा सम्बन्ध बिच्छेदका लागि पुरुष पुग्न थालेका छन् । जिल्ला अदालत घोराहीका अनुसार भदौ १ गतेदेखि सोमबारसम्म अदालतमा सम्बन्ध बिच्छेदका लागि १५ मुद्दा दर्ता भएको जिल्ला अदालतका श्रेस्तेदार गम्भीर राणाले जानकारी दिनुभयो । एघार सम्बन्ध बिच्छेदका मुद्दा पुरुषले दर्ता गराएका हुन् । श्रीमतीले घर व्यवहार चलाउन नसकेको, आफू वैदेशिक रोजगारीमा बस्दा पठाएको पैसा हिनामिना गरेको, विदेशबाट घर आउँदा श्रीमती घरमा नभएको, परपुरुषसँग सम्बन्ध राखेको लगायतका कारण देखाउँदै पुरुषले सम्बन्ध बिच्छेदका लागि अदालतमा मुद्दा दर्ता गराएको जिल्ला अदालतले जनाएको छ । सम्बन्ध बिच्छेद गारउनेमा ७३ वर्षका वृद्धसमेत रहेका छन् ।

जिल्ला अदालतमा गत आर्थिक वर्षमा ६६४ मुद्दा दर्ता भएका थिए । अदालतले ४९७ मुद्दाको फैसला गरेको थियो भने १६६ मुद्दाको फैसला हुन बाँकी छ । नयाँ संहिता लागू भएसँगै अदालतमा नयाँ प्रकृतिका मुद्दा आउन थालेको राणाले बताउनुभयो । अब अदालतले सम्बन्ध बिच्छेदका मुद्दामा पक्ष र विपक्षलाई मेलमिलापकर्ताका माध्यमबाट सकेसम्म मिलाउने कोशिश गर्ने र मिल्नै नसक्ने अवस्था भए सम्बन्ध बिच्छेद गरिने राणाको भनाइ छ । यसअघि सम्बन्ध बिच्छेदका लागि महिला सोझै अदालत जाने व्यवस्था थियो । पुरुषले गाउँ विकास समिति तथा नगरपालिकालगायतका विभिन्न प्रक्रिया पूरा गरेपछि मात्र सम्बन्ध बिच्छेदका लागि अदालत जान पाउने कानूनी व्यवस्था थियो ।
यो त एउटा उदाहरण मात्र हुन् । यस्ता सम्बन्ध विच्छेदका मुद्दा प्रत्येक जिल्ला अदालतहरुमा अत्याधिक रुपमा बढेको छ । यसलाई मिलाउन अदालतलाई धेरै समय खचनु पर्ने भएको छ । पुरुषहरले धेरै सहेर बस्नु पर्ने अवस्थालाई नयाँ मुलुकी संहिता लागूसंगै अन्त्य भएको छ ।

प्रतिक्रिया दिनुहोस्