मत हाल्ने तरिकाबारे स्पष्ट हुनुहुन्छ, मतदानस्थलमा पनि सिकाइन्छ मत हाल्ने तरिका
काठमाडौँ। के तपाई निर्वाचनमा मत हाल्ने तरिकाबारे स्पष्ट हुनुहुन्छ , हुनुहुन्न भने चिन्ता नगर्नुुस्, तपाईलाई मतदानस्थलमा पनि मत संकेत गर्ने तरिका सिकाउने व्यवस्था छ ।
प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा मतदाता शिक्षाका लागि पर्याप्त समय नहुँदा र दुई तहको निर्वाचन एकै पटक गर्न परेकाले कतिपय मतदातामा मतदान विधिबारे भएका अन्योल मेट्न निर्वाचन आयोगले मतदानस्थल र मतदानकेन्द्रमा मतदाता परिचयपत्र लिन आउदा वा निर्वाचनका दिन पनि मत हाल्ने तरिका सिकाउने प्रबन्ध गरेको हो ।
निर्वाचन आयोगले हरेक मतदान केन्द्रका लागि १९ हजार ९०८ जना मतदाता शिक्षा कार्यकर्तालाई घर घरमा पुग्ने गरी खटाउनुका साथै ती कार्यकर्ताले मंसिर १९ र २० गते प्रत्येक मतदानस्थलमा परिचयपत्र लिन आउने मतदातालाई मतपत्र देखाएर मतसंकेत गर्न सिकाउने व्यवस्था मिलाएको छ ।
मतदान केन्द्रमा पनि मतदाताले सोधेमा मत हाल्ने तरिकाबारे सिकाउन स्वयंसेवक परिचालन गरिएको आयुक्त इला शर्माले बताउनुभयो ।
दोस्रोचरणका ४५ जिल्लामा यही मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि अन्य तयारी पूरा भए पनि मतदाताले हालेको मत बदर हुने हो कि भन्ने चिन्ता सबैजसो दललाई परेको देखिन्छ । आयोगले विभिन्न माध्यमबाट मतदाता शिक्षा कार्यक्रम जारी राखेको छ भने दलहरुले आफ्नो निर्वाचन प्रचारका क्रममा पनि मत हाल्ने तरिका बारे जानकारी दिँदै आएका छन् ।
काठमाडौँ क्षेत्र नं ४ स्थित बूढानीलकण्ठ नगरपालिका– १२ का ३० वर्षीय सन्तोष लुइँटेल आयोगका सूचनाबाट आफूले मत हाल्ने तरिकाबारे थाहा पाए पनि कतिपय ज्येष्ठ मतदातामा अन्योल हुनसक्ने बताउनुहुन्छ ।
मत हाल्न जान्दैनन् भन्ने नाममा उनीहरूको मत एकाघर वा इच्छाइएको व्यक्तिबाट हाल्न लगाउँदा दुरुपयोग हुनसक्ने चिन्ता लुइँँटेलको छ ।
कंलकी निवासी चन्द्रमा घिमिरे र अञ्जु भट्टराई भने कसरी मत हाल्ने भन्ने हालसम्म स्पष्ट नभएको बताउनुहुन्छ । उहाँहरु मतदान केन्द्रमा पुगेर यसबारे बुझेर मत हाल्ने तयारीमा हुनुहुन्छ ।
काठमाडौँ क्षेत्र नं ६ मा पर्ने मनमैजू निवासी २८ वर्षीय बबिता श्रेष्ठ घिमिरे मतदाता शिक्षाबारे अरुलाई पनि जानकारी गराउँदै सामाजिक कार्यकर्ता बनेर आज पनि हिँडिरहनुभएको छ । ‘यतातिर सबैजसोलाई मत हाल्ने तरिका बताइसकेका छौँ, सायद समस्या हुँदैन होला ।’ उहाँले भन्नुभयो ।
नेपालको संविधान २०७२ पछिको पहिलो प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा तीन प्रकारका मतपत्रको व्यवस्था गरिएका छन् । दुबै तहमा प्रत्यक्षतर्फ छुट्टाछुट्टै रङका मतपत्र छन् ।
प्रतिनिधिसभामा प्रत्यक्षका लागि हरियो र प्रदेशसभाको प्रत्यक्षका लागि कालो रङको मतपत्र हुनेछ । दुबै मतपत्रमा आफूले रोजेको दल वा स्वतन्त्र उम्मेदवारको निर्वाचन चिन्हमध्ये एक एकमा मत हाल्नुपर्छ ।
समानुपातिक प्रणालीतर्फ दुबै तहका लागि एउटै पृष्ठ ९तल र माथि० मा सेतो रंगको पानामा रातो रङका चुनाव चिन्ह हुनेछन् । मतदाताले कुनै एउटा दलको निर्वाचन चिन्हमा एक÷एक मत दिनेछन् ।
मतदाता शिक्षालाई अभियानकै रुपमा सञ्चालन गर्न आयोगले राष्ट्रिय सञ्चार माध्यमबाट सूचना वा सन्देशलाई निरन्तर रुपमा प्रवाह गर्दै आएको छ ।
आयोगले विभिन्न १७ भाषामा अडियो, भिडियोका सामग्री उत्पादन गरी रेडियो, टेलिभिजन, निजी क्षेत्रका एफएम रेडियो तथा फिल्म हलमा समेत मतदाता शिक्षाबारे प्रशारण गराण गराउँदै आएको छ ।
यस्तै सडक नाटक, सार्वजनिकस्थलमा फ्लेक्स बोर्ड, प्रश्नोत्तर, हाते पुस्तिका, पोष्टर, सात प्रकारका फ्लिप चार्ट, मोबाइल भ्यान, लोक दोहोरीसहितको सांगीतिक कार्यक्रम गरेर पनि मतदाता शिक्षा दिइएको आयुक्त शर्माले बताउनुभयो । दोस्रो चरणको निर्वाचनका लागि १५ हजार ३४४ मतदान केन्द्र तोकिएको छ ।
प्रतिक्रिया दिनुहोस्