गिरिजा र सुशील बसेको कुर्सीमा किन बसे शशांक ?
काठमाडाैं । विराटनगरको कोइराला निवासमा एउटा कालो रंगको कुर्सी छ। हेर्दा सामान्य लागे पनि यसले कोइराला परिवारको विरासत झल्काउँछ। यो कुर्सीमा लामो समय गिरिजाप्रसाद कोइराला बसे । उनको निधनपछि सुशील कोइराला यो कुर्सीमा बस्न थाले।
यो कुर्सीमा जो बस्यो, त्यो नै कोइराला परिवारको मूली भन्ने अर्थ लाग्छ । सुशीलको पनि निधनपछि यो कुर्सीमा शेखर कोइराला बस्ने गरेका छन्। भदौ ३ आइतबार बिहान भने यो कुर्सीमा फरक मानिस थिए । कोइराला निवासको त्यस दिनको दृश्य र परिवेशले कांग्रेसीहरूमाझ राजनीतिक सम्भावनाका धेरै संकेत पनि छाडेको छ । विराटनगर जाँदा सधैं होटलमा बस्ने महामन्त्री शशांक कोइराला त्यति बेला कोइराला निवासमै बसे । निवासमा मात्र होइन, त्यही कालो कुर्सीमा बसे । उनलाई तानेर ‘मूली’ कुर्सीमा राख्ने व्यक्ति थिए, शेखर कोइराला।
‘पहिला त उहाँ अर्कै कुर्सीमा बस्नुभएको थियो । शेखर दाइले उहाँलाई त्यसमा बसाल्नुभयो,’ कोइराला निवासका एक सहयोगीले भने । डेढ वर्षपछि हुने पार्टीको १४ औं महाधिवेशनका सन्दर्भमा यो एउटा सांकेतिक अर्थ थियो या पार्टीको पदीय सम्मान? भविष्यले प्रस्ट्याउला । सक्रिय तीन कोइरालामध्ये शशांक पार्टी महामन्त्री छन् । शेखर र सुजाता केन्द्रीय सदस्य । शशांक बीपी पुत्र हुन् । शेखर नोना कोइरालाका छोरा हुन् भने सुजाता गिरिजाप्रसादकी छोरी ।
१३ औं महाधिवेशनसम्म नेतृत्वको महत्त्वाकांक्षा राखेकी सुजाता पछिल्लोपटक स्वास्थ्यका कारण पछि हटेपछि शशांक र शेखरबीच आन्तरिक प्रतिस्पर्धा छ । ‘अझै दुई वर्ष बाँकी छ । अहिल्यै किन टाउको दुखाउने ?,’ नेतृत्वका लागि को अघि बढ्ने तयारी छ भन्ने प्रश्नमा सुजाताको संक्षिप्त प्रतिक्रिया थियो, ‘त्यति बेलाको परिस्थिति र समयले जसलाई खोज्छ, उही हुन्छ।’ शेखर आफूले पार्टी र शशांकले सरकारको नेतृत्वका लागि बाटो समातिदिए हुन्थ्यो भन्ने पक्षमा रहेको उनीनिकट बताउँछन् । तर, शशांक पनि पार्टी नै ताकिरहेका छन्।
शशांकले केही समयअघि कान्तिपुरसँग आफूले सभापतिमा प्रतिस्पर्धा गर्ने बताएका थिए । आइतबार पनि विराटनगर निवासमा उनले दुई दाजुभाइमध्ये एक जना सभापति उठ्ने घोषणा गरे । ‘शेखर दाइसँग कुरा भइरहेको छ, हामी दुईमध्ये एकजना सभापति उठ्नेमा शंका छैन,’ शशांकको भनाइ थियो, ‘म कि दा भन्ने अन्तिम टुंगो लाग्न बाँकी छ ।’
पछिल्लोपटक सभापति शेरबहादुर देउवाप्रति महामन्त्री शशांक बढी नै नरम भएको भन्दै शेखरको असन्तुष्टि थियो । उनले पटकपटक सभापतिको गलत कामको आलोचना गर्न आग्रह पनि गरे । तर, शशांक लामो समय मौन बसे । वरिष्ठ नेता पौडेल र शशांक पक्षीय कतिपय नेताहरूले उनको भूमिकालाई लिएर सार्वजनिक रूपमा आपत्ति जनाए पनि । आइतबार विराटनगरमा पहिलोपटक शशांकले सभापतिको कडा रूपमा सार्वजनिक आलोचना गरेका हुन् ।यो खबर आजको कान्तिपुर दैनिकमा कुलचन्द्र न्यौपानेले लेखेका छन्।
प्रतिक्रिया दिनुहोस्