शिक्षा तथा स्वास्थ्य समितिको बैठकः चिकित्सा शिक्षा निःशुल्क पढ्न पाउनुपर्ने माग

काठमाडौं। प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले चिकित्सा शिक्षा विधेयकमा संशोधन प्रस्ताव दर्ता गराएका संशोधनकर्ता सांसदहरुसँग छलफल गरेको छ ।  आईतबार सिंहदरबारस्थित समितिको कार्यालयमा बसेको समितिको बैठकले विधेयकमाथि संशोधन दर्ता गराएका संशोधनकर्ता सांसदहरुको धारणा बुझेको हो ।

संशोधनकर्ताहरु विन्दा पाण्डे, सोमप्रसाद पाण्डे, राजेन्द्रकुमार केसी, खगराज अधिकारी लगायतले धारणा राखेका थिए । विन्दा पाण्डेले आशयपत्र लिइसकेका चिकित्सा शिक्षा अध्ययन गराउने संस्थालाई विस्तारै नाफारहित शिक्षण संस्थाको रुपमा परिणत गर्दै ट्रष्टमा परिणत गर्नुपर्ने तर्क गरे । उनले चिकित्सा शिक्षा अध्ययनका लागि छुट्याइएको ७५ प्रतिशत निशुल्क सिट निम्न वर्गले पाउने सुनिश्चितता विधेयकमानै गरिनुपर्ने धारणा राखे ।

सांसद सोमप्रसाद पाण्डेले कम्तिमा ३ बर्षभित्र नेपालभरि चिकित्सा शिक्षा निःशुल्क पढ्न पाउनुपर्ने व्यवस्था गर्नुपर्ने बताए । त्यसैगरी राजेन्द्रकुमार केसीले राजधानी काठमाण्डौमा कम्तिमा १० बर्ष रोकेर बाहिर मेडिकल कलेज खोल्न प्रोत्साहन गरिनुपर्ने बताए ।

संशोधनकर्ताहरुको भनाईपछि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले भुगोल र जनसंख्याको आधारमा शिक्षण संस्था खोल्नका लागि अनुमति प्रदान गरिने उल्लेख गरे । उनले शिक्षण संस्थाको गुणात्मकको विषयमा सरकारले कुनै पनि प्रकारको सम्झौता नगर्ने स्पष्ट पारे ।

समितिले आगामी बैठकमा चिकित्सा शिक्षाका सरोकारवाला निकाय, माथेमा आयोगका प्रतिनिधि, डाक्टर गोविन्द केसी, नेपाल मेडिकल काउन्सिल लगायतसँग छलफल गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्