गएराति १२ बजेदेखि मौन अवधि सुरु, आजबाट प्रचारमा रोक

काठमाडौं। प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन दोस्रो चरणका लागि दल र उम्मेदवारले प्रचार तथा भोट माग्ने काम मंगलबारदेखि गर्न पाउने छैनन् । मतदान हुनु ४८ घण्टापूर्व नै मौन अवधि सुरु हुने भएकाले कुनै प्रकारको प्रचारप्रसार गर्न पाइने छैन । मतदान मंसिर २१ गते बिहीबार हुँदैछ ।

निर्वाचन आयोगले मौन अवधिमा प्रचार तथा आचारसंहित विपरीतका काम गरेको भेटिएमा उम्मेदवारी खारेजसमेत हुन सक्ने चेतावनी दिएको छ । ‘निर्वाचन आचारसंहिताअनुसार मौन अवधिमा कुनै प्रकारले मतदातालाई प्रभावित पार्ने काम हुनुहुँदैन,’ निर्वाचन आयोगका प्रवक्ता सहसचिव नवराज ढकालले भने, ‘यो समय मतदाताको हो, यस अवधिमा मतदाताले उम्मेदवारबारे अध्ययन गर्ने तथा मतदान कसलाई गर्ने भन्ने निर्णय लिने बेला हो ।’

प्रत्यक्ष प्रचार गर्न नपाए पनि यस अवधिमा राजनीतिक दल तथा उम्मेदवारले अनौपचारिक भेटघाट, घरदैलो, भोजभतेर तथा आर्थिक चलखेललगायत क्रियाकलाप गरी मतदाता प्रभावित पार्ने काम गरेको पाइन्छ । ‘आचारसंहिताविपरीत गरिने क्रियाकलापप्रति आयोग सतर्क छ, यस अवधिका लागि प्रशस्तै अनुगमनकर्तासमेत परिचालन गरिएको छ,’ प्रवक्ता ढाकालले भने, ‘आचारसंहिता विपरीतका क्रियाकलाप देखिए अनुगमनकर्ताले कारबाही गर्न सक्छन्, पैसा बाँडेको प्रमाण भेटिए उम्मेदवारीसमेत खारेज हुन सक्छ ।’

राजनीतिक दल वा उम्मेदवारले मतदान केन्द्रको ३ सय मिटर वरिपरि राखेका प्रचार सामग्रीसमेत हटाउनुपर्ने उनले बताए । आजको कान्तिपुरमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्