चिकित्सक संघको चेतावनी : धारा २३१ संशोधन नगरिए लाइसेन्स सरकारलाई बुझाउँछौँ

काठमाडौँ । नेपाल चिकित्सक संघका अध्यक्ष डाक्टर मुक्तिराम श्रेष्ठले अपराध संहिताको धारा २३१ लाई संशोधन नगरिए कडा आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।

शुक्रबार रिपोटर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने, ‘कुनै बिरामीको ज्यान गएको खण्डमा ज्यान मारेसरह मानिने छ भनेर लेखिएको छ, चिकित्सा शिक्षा पढ्दाखेरि हामीले कसम खाएका हुन्छौं, कुनैपनि बिरामी आमाबासरह हुन भनेर हामीलाई कुनै छलकपट र लापरबाही गर्नुछैन्, तर कुनै यस्ता बिरामी हुन्छन्, शल्यक्रिया गर्दागर्दै विरामीको निधन भए ज्यान मारेसरह मानिने छ भनेर लेखिएको छ, हामी त्यसको बिरोधमा छौं ।’

श्रेष्ठले थपे,‘टाउकोको शल्यक्रिया गर्दा अपवादमा कसैको हात र कसैको खुट्टा नचल्न सक्छ, त्यस्तो स्थितिमा शल्यक्रिया गर्ने डाक्टरले सिधै जेल जानुपर्ने स्थिति छ, ५० प्रतिशत बिरामी निको हुने अवस्था छ भनेपनि यही कानूनको डरले डाक्टरले शल्यक्रिया नगर्न सक्छ्, त्योबेला के गर्ने ? उपचार गर्दागर्दै ज्यान गएपनि जेल जानुपर्ने ? कुनै अस्पतालमा उपचार कठिन होला, रिफर गर्न नपाईने ? कुनैबेला राजनीतिक दलहरुले हामीजस्ता कर्मचारीलाई सडकमा मान्छे भएन भनेर बोलाउनुहुन्थ्यो, तर आज हाम्रै अधिकारलाई वास्ता गर्नुभएन ।’

आज भदौ १ गतेदेखि लागु भएको अपराध संहिताका धारा २३० र २३१ मा उल्लेखित व्यवस्थाका बिरुद्धमा आफूहरुले आन्दोलन गर्ने कार्यक्रम रहेको भएपनि कानून मन्त्रालयले सुझाव मागेको कारण आन्दोलन स्थगित गरिएको उनको स्पष्टोक्ति थियो ।

उनले भने,‘भदौ १५ गतेभित्र समस्या समाधान भएन भने हामी आन्दोलनमा होमिन्छौं, नभए हामी लाईसेन्स सरकारलाई बुझाएर सामान्य नागरिक भएर बस्छौं ।’

प्रतिक्रिया दिनुहोस्