राजस्व चुहावट गर्ने धमाधम विभागको नियन्त्रणमा, आजैमात्र दुईवटा मुद्दा जिल्ला अदालत पुग्यो

काठमाडौं।  विगत ६ वर्षदेखि साना करदाताको घोषणा गरेर बार्षिक ५ हजार रुपैयाँ मात्र तिर्दै आएका विनोदप्रसाद गुप्ताविरुद्ध राजस्व अनुसन्धान विभागले जिल्ला अदालत काठमाडौमा मुद्दा दर्ता गरेको छ ।  हिमालयन कार्गो सञ्चालन गरी बसेका विनोदकुमार गुप्ताविरुद्ध भदौ एक गते (आज) मुद्दा दर्ता गरेको राजस्व अनुसन्धान कार्यालयले जनाएको छ ।

गुप्ताले ०७२/०७३ देखि हालसम्म कुनै पनि कर नबुझाइ बसेको अनुसन्धानबाट खुल्न आएको हो । उनले ५४ करोड ५२ लाख रुपैयाँ कर छलि गरेको भेटिएपछि उनीबाट २ अर्ब ७२ करोड जरिवाना गरी ३ वर्षसम्म कैद गर्त माग राख्दै जिल्ला अदालत काठमाडौमा मुद्दा दर्ता गरेको विभागका महानिर्देशक दीर्घराज मैनालीले बताए । सो मुद्दामा कुमारी गुप्तालाई पनि सामेल गराइएको छ ।

यता, नक्कली मूल्य अभिबृद्धि करमा रविन्द्र गुप्तासहित २२ जनाविरुद्ध १० करोड २० लाख बराबरको राजस्व चुहावट गरेको भन्दै आजै जिल्ला  अदालत काठमाडौमा मुद्दा दर्ता भएको छ । उनीहरुले दुध तथा घ्युको नक्कली प्रज्ञापनपत्र बनाएको र नक्कली मूअ करको विल बनाएर राजस्व छली गरेको विभागको अनुसन्धानले देखाएको छ ।

यस्तै तीन केजी सुन भन्सार चोरी पैठारी गरेर राजस्व चुहावट गरेको र विदेशी मुद्रा अपचलन गरेको भन्दै यसअघि साउन २५ गते मुद्दा दर्ता भइसकेको छ । यो प्रकरणमा दीपककुमार मौर्यसहित ६ जनालाई १७ करोड ६५ लाख राजस्व चुहावट गरेको ४४ करोड ६५ लाख रुपैयाँ विदेशी मुद्रा अपचलन गरेको आरोप छ ।

यता साउन १५ गते रमेश रजक समेत ८ जनाविरुद्ध कालो हिरा भन्सार चोरी पैठारी गरी राजस्व चुहावट गरेको अभियोगमा  मुद्दा दर्ता भएको थियो ।  छाला भनेर मचि निकासी गर्ने सञ्जय अग्रवालविरुद्ध भने आगामी हप्ता जिल्ला अदालत पर्सामा मुद्दा दर्ता गर्ने तयारी रहेको अनुसन्धान विभागले जनाएको छ ।

विगत दुई महिनामा भन्सार जाँचपासबाट र विभिन्न भन्सार नाकाबाट १ करोड ८४ हजार रुपैयाँ राजस्व चुहावट भएको विभागले भनेको छ । सामानको न्युन मूल्याँकन भएर भन्सार जाँचपास भएको अनुसन्धानबाट खुल्न आएको हो ।

यस्तै भैरहवा भन्सार कार्यालयका एजेन्ट नवराजप्रसाद उपाध्यायले  नक्कली फर्म खडा गरेर राजस्व छली गरेको भेटिएपछि जिल्ला अदालत भैरहवामा साउन २८ गतेनै मुद्दा दर्ता भएको छ ।  विभागका महानिर्देशक मैनालीले कुनै पनि बहानामा कर छलि गर्नेलाई नछोड्ने बताए । कर छली गर्नेलाई ढिलो चाडो कानुनको दायरामा ल्याउने पनि उनले बताए ।

प्रतिक्रिया दिनुहोस्